रियल मेड्रिड सर्वाधिक मूल्यवान



एजेन्सी ।

चर्चित अमेरिकी म्यागाजिन ‘फोर्ब्स’ ले जारी गरेको विश्वकै सर्वाधिक मूल्यवान क्लबहरुको नयाँ सूचीको पहिलो स्थानमा स्पेनिस ला लिगाको महारथी रियल मेड्रिड परेको छ ।

फोर्ब्सले आफ्नो वेबसाइटमा प्रकाशित नयाँ सूचीअनुसार रियलको कुल बजार मूल्य ५.६ बिलियन यूरो रहेको उल्लेख गरेको छ। यो अन्य कुनै पनि क्लबको भन्दा सर्वाधिक बजार मूल्य हो ।

उक्त सूचीको दोस्रो स्थानमा भने इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड परेको छ। युनाइटेडको कूल बजार मूल्याङ्कन ५.५ बिलियन यूरो रहेको जनाएको छ। यो आंकडा रियलको भन्दा थोरैले मात्र कम हो।

केहि वर्षअघिसम्म युरोपको बलियो क्लबका रुपमा रहेको युनाइटेड पछिल्ला सिजनहरूमा उपाधिका हिसाबले ओरालो लागेको अवस्थामा छ । तैपनि बजार मूल्यको प्रसंगमा भने अझै त्यति धेरै खराब अवस्थामा नपुगेको तथ्याङ्कले देखाएको छ।

सूचीको तेस्रो स्थानमा स्पेनिस ला लिगाकै क्याटालान क्लब बार्सिलोना रहेको छ । बार्सिलोनाको कूल ५ बिलियन यूरो बजार मूल्य छ। त्यसैगरी चौथो र पाँचौ स्थानमा इंग्लिश प्रिमियर लिग क्लबहरू क्रमशः लिभरपुल र म्यानचेस्टर सिटी छन् ।

लिभरपुलको कुल बजार मूल्याङ्कन ४.९ बिलियन यूरो छ भने सिटीको ४.६ बिलियन यूरो रहेको छ। त्यसैगरी छैठौ र सातौं स्थानमा क्रमशः जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन रहेका छन्।

आठौं देखि दशौं स्थानसम्म रहेका इंग्लिस क्लबहरू क्रमशः चेल्सी, टोटेनहम हटस्पर र आर्सनल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्