नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं ।

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क्लेसँग बुधबार भेटघाट गरेका छन्।

मन्त्री श्रेष्ठ र अध्यक्ष बार्क्लेबीच चार विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जानकारी दियो। नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय जगतमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्क्लेले बताएको पनि सचिवालयले जानकारी दिएको छ।

यस्तै मन्त्री श्रेष्ठले नेपाल सरकारले मुलपानीको तल्लो रंगशाला, भरतपुरको गौतमबुद्ध रंगशाला र विराटनगरको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको बताउँदै निर्माण कार्यको विषयमा जानकारी गराए।

अध्यक्ष बार्क्लेले त्रिवि मैदानको फ्लड लाइटको विषयमा जानकारी पनि लिए। यसमा मन्त्रीले जडान प्रक्रिया अघि बढिसकेको बताएको पनि मन्त्रीको सचिवालयले जानकारी गराएको छ।

यसैगरी नेपालको छोटो भ्रमणमा रहेका बाक्र्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको बताएइको छ।

प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए। प्रधानमन्त्रीले सन् २०२७ को यू १९ महिला विश्वकपको लागि नेपाल सरकारले निकै महत्व दिएको र आईसीसीबाट महत्वपूर्ण सहयोग हुने अपेक्षा राखेको भेटघाटमा उल्लेख गरिएको छ।

अघिल्लो दिन मात्रै पनि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बार्क्लेबीच भेटघाट भएको थियो। सो भेटघाटमा सदस्य सचिवले नेपालमा धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसरहरू जुराइदिन आग्रह गरेका थिए।

नेपालमा क्रिकेटमा बाक्लो दर्शक हुने गरेको पनि स्मरण गराएका थिए। बार्क्लेले बताए कि सीमित श्रोत र साधनका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता छ।

बार्क्ले भारतमा महिला प्रिमियर लिग हेर्न आएका थिए। उनले त्यहाँबाटै नेपाल भ्रमण गर्ने योजना बनाएका थिए। वास्तवमा नेपालमा सन् २०२७ मा आईसीसी यू १९ महिला टी २० विश्वकप हुन लागेको छ।

त्यसमा नेपालले बंगलादेशसँगै सह–आयोजकको रूपमा प्रतियोगिता आयोजना गर्दैछ। यही प्रतियोगिताकै लागि बार्क्ले नेपालमा आएको पनि जनाएको छ।

यो नेपालको लागि पहिलो ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हो। यो अवसरलाई राम्ररी लिन सकेमा भविष्यमा नेपालमा ठूल्ठूला प्रतियोगिता हुन लाइन लाग्नेछ। किनभने नेपालमा क्रिकेट क्रेज धेरै छ। प्रतियोगिता आयोजना हुन तीन वर्षको समय छ। यति समयमा भौतिक पूर्वाधारमा विकास गर्न पनि आवश्यक छ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बार्क्लेको नेपाल भ्रमणबाट खुशी देखिएको पनि बताएका छन् । नेपालमा प्रतियोगिता आयोजना गर्न मूलपानीस्थित दुई मैदान र कीर्तिपुरको एक गरी तीन मैदान तयार गर्न पनि लाग्नु पर्ने चन्दले बताएका छन्।

त्यसैमा बार्क्लेले पनि बताएका छन् कि सन् २०२७ मा महिला टी २० विश्वकपमा नेपालले राम्रो गर्नेमा आईसीसी विश्वस्त छ आईसीसी अध्यक्ष नेपाल भ्रमणमा आएको यो पहिलो पटक पनि हो। नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको सफलताले प्रभावित भएर आईसीसी अध्यक्ष नेपाल आएको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्