राखेपले स्विकृत नदिएपनि एन्फाका पदाधिकारी बहराइन पुगे



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ खेलकुद मन्त्रीमा नियुक्ति भएसँगै नेपाली खेलक्ुदमा एक किसिमको तरंग फैलियो। मन्त्री श्रेष्ठ विगतमा आएका मन्त्रीहरू भन्दा फरक ढंगले एक्शनमा उत्रेपछि नेपाली खेलकुदमा लौ है केही त हुन्छ भन्ने सबैको मनमा रह्यो पनि । यसले खुशी र आसाको तरंग दियो पनि नेपाली खेलकुदका शुभचिन्तकहरूलाई ।

मन्त्री श्रेष्ठले पहिलो कदमको रूपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीसँगै केही अनावश्यक व्यक्तिहरू बहराइन यात्रा गर्ने विषयमा एन्फालाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिए। मन्त्री श्रेष्ठको निर्देशन बमोजिम राखेपले पनि न फुटबल टोलीसँगै बहराइन जाने एन्फाका केही अनावश्यक पदाधिकारीहरूलाई जान स्विकृती दिएन।

११ जनामध्ये दुई जना मिडिया अफिसर र डाक्टरलाई राखेपले जान स्विकृति दियो भने बाँकी ९ जनालाई जानबाट रोक लगायो। तर, यी रोकिएको नामावली मध्ये एन्फाका ७ जना पदाधिकारी बुधबार बहराइन पुगिसकेका छन्। यहाँ न मन्त्रीको वचनलाई वास्ता गरियो न राखेपलाई नै इज्जत दिइयो।

यसरी जानेमा एन्फाका केन्द्रीय सदस्यद्वय टीका लामा र मणिराज विष्ट, झापाका शेरबहारदुर बस्नेत, जिल्ला सदस्य भरत बुढाक्षेत्री, जावलाखेल युथ क्लबका महेशचन्द्र महत, श्री भगवती क्लबका राजकाजी श्रेष्ठ र उदयपुरका रञ्जन कार्की रहेका छन् । यसको मतलब एन्फाले राखेपको निर्णयलाई लत्याएको छ।

स्रोतको अनुसार यिनीहरूले पहिल्यै टिकट काटिसकेको र एन्फाले राखेपसँग स्विकृत लिन राखेको पत्र पनि नाटक मात्रै रहेको साबित भयो । राखेपका एक कर्मचारीले बताए कि युवा तथा खेलकुद मन्त्रालयले यसबारे छानबिन गर्न निर्देशन दिइसकेको छ।

मन्त्रीमा नियुक्ति भएसँगैं खेलकुदमा कडाईका साथ लागेका मन्त्री श्रेष्ठले यस गम्भीर विषयमा कसरी एक्शन लिनेछन् त्यो हेर्न बाँकी नै छ। उनले खेल संघहरूले खेलकुद विकास ऐन २०७७ बमोजिम राखेपबाट स्विकृत लिएर मात्रै विदेशमा जान पाइनेअनुसार यसलाई नियमका साथ लागू गर्न लागेका हुन् ।

संघहरूले विदेशमा प्रतियोगितामा भाग लिन जाँदा राखेपसँग स्विकृत लिनु पर्ने नियम छ। यसलाई कार्यान्वयन ल्याउन मन्त्रीले निर्देशन दिएपछि एन्फाले राखेपसँग स्विकृत लिन औपचारिकता मात्रै पुरा गरेको हो। तर, एन्फालाई कारवाही गर्न काटेको पत्रले अरु खेल संघलाई असर भने परेको छ।

मन्त्रीले एन्फालाई कारवाही गर्न राखेपलाई निर्देशन दिएकै समयमा चीन जान विमानस्थल पुगिसकेको तेक्वान्दो टोली रोकियो। तेक्वान्दो टोली पेरिस ओलम्पिक्स तथा पाराओलम्पिक्स २०२४ को छनोट प्रतियोगितामा भाग लिन जान लागेको थियो।

उनीहरू राखेपको स्विकृति लिएपनि सोसम्बन्धी कागजात नलिई विमानस्थल पुगेका थिए। तर, एन्फालाई कारवाही गर्न निर्देशन दिएको थाहा पाएर उनीहरूले राखेपको पत्र पाएपछि मात्रै चीन प्रस्थान गरेको थियो।

यो घटनाले यही स्पष्ट गरेको छ कि विगतमा मनपरी गरेकोमा अब त्यो छुट नपाउने भएको छ। तर, एन्फाका पदाधिकारीहरू भने राखेपले रोके पनि बहराइन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्