जुम्ला रारा अल्ट्रा म्याराथन हुने



मुगु ।

आगामी वैशाख १ गते जुम्ला रारा अल्ट्रा म्याराथन कर्णाली र्स्पोर्टस क्लबले आयोजना गर्न लागेको अध्यक्ष सरोज शाहीले बताएका छन्।

विगत पाँच वर्षदेखि हरेक वैशाखमा जुम्ला अल्ट्रा म्याराथन भइरहेको छ। उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा जुम्लालाई स्थापित गर्ने र कर्णालीमा खेल पर्यटनको सम्भावना रहेको सन्देश विश्वभर फैलाउनको लागि म्याराथनको आयोजना भइरहेको शाहीले बताए।

‘कर्णाली प्राकृतिक सुन्दरताले भरिएको छ । तर पर्यटन क्षेत्रका रुपमा स्थापित हुन सकिरहेको छैन्,’ उनले भने,‘म्याराथनका माध्यमबाट प्रचारप्रसार गरेर खेल पर्यटनको रुपमा कर्णालीलाई चिनाउने प्रयत्न भइरहेको छ।’

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले खेल क्षेत्रको विकास विना कुनै पनि विकास सम्भव नहुने बताए। ‘म्याराथन प्रति युवायुवतीको आकर्षण बढिरहेको छ। विदेशी खेलाडी समेत सहभागि हुने गरेका छन्,’ उनले भने, ‘अल्ट्रामा दौड्ने खेलाडीले सीमा र समुदायको भावना खोज्छ। जुन आन्तरिक रूपमा आरामदायी छ । यो सूर्यास्तमा रमाइलो गर्ने, गाउँठाउँमा रमाउने, पहाडमा दौडिँदै र प्रवाहको अवस्थामा पुग्दा शान्तिको आनन्द लिने म्याराथन हो ।’

जुम्लाबाट रारासम्म हुने ४९ किलोमिटर दूरीको दौडमा यसपटक २ जना बेलायती र २ जना भारतीय खेलाडीले समेत भाग लिनेछन् । उनीहरुले नाम दर्ता गरिसकेको कर्णाली स्पोर्टस क्लबले जनायो। विगतमा विभिन्न १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकाबाट गरी १ हजार ८ सय बढी खेलाडीले सहभागिता जनाइसकेका छन् ।

अल्ट्रा म्याराथनको प्रचारका निम्ति बनाइएको ट्रिजर समेत सार्वजनिक गरिएको थियो। प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार पुरस्कार रकम प्रदान गरिनेछ । चौथो र पाँचौलाई नगद २० हजार दिइने पनि आयोजकले जनायो।

प्रतिक्रिया दिनुहोस्