धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्न आग्रह



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो।

सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी २० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको बताउदै पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए।

नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको बताए।

सदस्य–सचिव घिसिङले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी– २० विश्वकपका लागि आईसीसीबाट पनि सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएको आईसीसीलाई धन्यवाद दिए।

सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाइ दिन आग्रह समेत गरे।

आईसीसीका अध्यक्ष बारक्लेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउदै सीमित श्रोत र साधनका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए।

बारक्लेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्