सुनकोसीमा आङ खस्ने समस्याबाट महिलाहरुले पाए छुटकारा



ओखलढुंगा ।

सुनकोसीमा आङ खस्ने समस्याबाट महिलाहरुले छुटकारा पाएका छन्  ।  जिल्ला अस्पताल रुम्जाटारमा भेटिएकी सुनकोसी १० च्यानमका रयलेका दिल कुमारी रायको अनुहार खुसीले उज्यालो थियो । विगत ३० वर्ष अघिदेखि आङ खस्ने समस्याबाट पिरोली रहनु भएकी दिल कुमारीको पाठे घरको अप्रेसन भए पछि दिल कुमारीको मुहारमा खुसी छाएको हो । गह्रुँगो भारी बोक्न हुँदैन थियो भतभती तल्लो पेट दुखेर मर्नुको हुन्थ्यो पिडा सहेरै भए नि काम गर्नु पर्थ्यो आँखाको डिलभरि आशु पार्दै अस्पतालको बेडमा रहेकी दिल कुमारीले विगत सम्झिन ।

अब मलाई दुख्दैन भनेका छन् डाक्टरले निको हुन्छ रे, आँखामा छचल्किएका आशु पुछ्दै दिल कुमरीले खुसी ब्यक्त गरिन । दिल कुमारी मात्रै हैन सँगैको बेडमा रहेकी भीम कुमारी कटुवालको मुहारमा पनि बिछट्टैको खुसीका चेहेरा देखिन्थ्यो । भारी बोक्दा जोता पिन्दा बिछट्टै दुख्थ्यो कमसे कम बुढेस कालमै भए नि उपचार भएको छ अब त नदुख्ला नि भीम कुमारीले मन्द मुस्कान सहित आशा राखिन ।

सुनकोसी गाउँपालिकामा रहेका पाठे घर खस्ने समस्याबाट ग्रसित महिलाहरूको समस्यालाई मध्ये नजरमा राखेर सुनकोसी गाउँपालिका ओखलढुंगाले आयोजना गरेको ३ दिने शिविरमा पाठेघर खसेका महिलाहरूको अप्रेसन गरे पछि उहाँहरुको मुहारमा खुसी छाएको हो । आङ खस्ने रोग बाट ग्रसित महिलाहरूको पहिचान गरी २८ जना महिलाहरूलाई अप्रेसनका लागी रुम्जाटार अस्पताल ल्याइएको सुनकोसी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताएका छन् । २८ जना मध्य १ जनाको अप्रेसन गर्नु नपर्ने भएकाले फर्केको र २ जनामा दम तथा मुटु रोगको समस्या देखिएकाले ३ जनाको अप्रेसन नगरिएको उपाध्यक्ष अधिकारीले बताएका छन् ।

शिविरमा सुनकोसी गाउँपालिकाले बिरामीहरूलाई आउने जाने खर्च सहित उपचारको क्रममा अस्पतालमा रहँदा कुरुवा सहितका लागी खाने बस्नेको ब्यवस्थापन गरेको उपाध्यक्ष अधिकारीले बताएका छन् । आफु निर्वाचित हुनु अघि पनि सामाजिक क्षेत्रमै काम गरी रहेको र आङ खस्ने समस्या महिलाहरूको विकराल समस्याको रूपमा आफुले देखेको उपाध्यक्ष अधिकारीको भनाई रहेको छ । घरेलु हिंसामा परिने डरले महिलाहरूले आङ खस्ने समस्या भित्रभित्रै लुकाएर रख्ने गरेको समेत उपाध्यक्ष अधिकारीको भनाई रहेको छ ।

महिलाहरूले धेरै बच्चा जन्माउँदा, गह्रुँगो भारी बोक्दा महिलाहरूमा आङ खस्ने समस्याको सृजना हुने स्त्री रोग विशिषज्ञ डा. अमिताभ ठाकुरले बताएका छन् । अप्रेसन गरे पछि २ महिना सम्म बिरामीले चर्को काम गर्न नहुने विशिषज्ञ डा.अमिताभ ठाकुरले बताएका छन् । साथै बिरामीले जाड रक्सी चुरोट खान नहुने र पोषिलो खाने कुरा खानु पर्ने विशिषज्ञ डा.अमिताभ ठाकुरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्