त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि पीएनजीसँग भिड्दै नेपाल



काठमाडौं ।

हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपालले आज पपुआ न्युगिनी (पीएनजी) को सामना गर्दै छ। हङकङको मोङ कोक मैदानमा हुने फाइनल खेल नेपाली समयानुसार बिहान ११:४५ बजे सुरु हुने छ।

त्यसअघि आजै हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुने छ। नेपालले मंगलबार भएको खेलमा पीएनजीलाई ८५ रनले हराएर फाइनलमा पुगेको हो। नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले अलआउट हुँदै १ सय १७ रन मात्र जोड्न सक्यो। मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् ।

कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका थिए। उनले कप्तान असद भाला र लेगा सिआकालाई क्याच आउट तथा किप्लिन डोरिगा र नोर्मन भानुआलाई बोल्ड गरेका थिए। प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १–१ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो। टोलीका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।

पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे। आठौं ओभरमा विनोद जोन कारिकोको शिकार बने। उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए।

लगत्तै अर्को ओभरमा कप्तान रोहित पौडेल मात्र १ रन जोड्दै आउट भएका थिए। नवौं ओभरमा आरिफ शेख पनि ४ रन जोड्दै पभेलियन फर्के । त्यसपछि कुशल र सन्दीप जोराले आक्रमक हुँदै ३० बलमा ५० रनको साझेदारी गरे। कुशलले १३ औं ओभरको चौथो बलमा गार्डनरलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे ।

कुशलले ३२ बलमा उनको करियरको नवौं अर्धशतक बनाएका थिए। उनी भानुआको बलमा आउट भएका थिए। यस्तै सन्दीपले मात्र २१ बलमा आफ्नो दोस्रो टी-२० आई अर्धशतक पूरा गरे। उनले २६ बलमा ५६ रन जोडेका थिए।

अन्यमा लोकेश बम १४, विवेक यादव १९ र गुलशनले १५ रन बनाए। पीएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १–१ विकेट लिए।

पीएनजीले मंगलबार नै भएको दोस्रो खेलमा आयोजक हङकङलाई १० विकेटले हराएर फाइनलको यात्रा तय गरेको हो। हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाई १ सय २४ रन बनाएर प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्