साफ यू-१६ मा नेपालद्वारा भुटान पराजित



काठमाडौं ।

साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालद्वारा भुटान पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपालले भूटानलाई ३-० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा पुजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक-एक गोल गरे ।

खेलको १४औं मिनेटमा नेपालले अग्रता लिएको थियो । पूजा गिरीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको फितलो प्रहारलाई गोलरक्षक केल्जाङ वाङमोले बचाउन नसक्दा नेपालले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै कप्तान भूमिका बुढाथोकीले गोल गर्दै नेपाललाई २-० ले अघि राखेका थिए ।

खेलको २८औं मिनेटमा ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भएपछि पहिलो हाफसम्म नेपालले तीन गोलको अग्रता लिएको थियो जुन खेलको अन्तिम नतिजा सावित भयो । खेलको ३८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि भूटानले पेनाल्टीको अवसर पाएपनि भुटान सफल हुन सकेन । भूटानकी छिरिङ ल्हामोको पेनाल्टी प्रहारलाई नेपाली गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट ढंगले बचाएकी थिईन् ।

जितसँगै नेपालको तीन अंक भएको छ । समान तीन-तीन अंक जोडेपनि गोलअन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । पहिलो खेलमा नेपाल बंगलादेशसॅग २-० ले पराजित भएको थियो । भारतले भुटानलाई ७-० गोलअन्तरले हराएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार भारत र बंगलादेशबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्