नेपाली महिला फुटबलरलाई थप हौसला देऊ



काठमाडौं ।

भर्खरै साउदी अरेबियामा सम्पन्न पश्चिम एसिया महिला फुटबलको प्रतियोगिता वाफ च्याम्पियनमा नेपाली महिला टिमले दोस्रो स्थान हासिल गर्‍यो। नेपाली महिला फुटबल टिम जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो।

नेपालले प्रतियोगिताभरि सानदार प्रदर्शन गरेको थियो। नेपाली महिला फुटबलमा अहिलेसम्मकै यो ठूलो सफलता पनि हो। नेपाल यस प्रतियोगितामा दक्षिण एसियाली टोलीको रुपमा सामेल भएको थियो र प्रतियोगितामा पहिलो सहभागितासमेत थियो। तर, नेपाली महिला फुटबलरहरुले गरेको प्रदर्शनले देश–विदेशमा सर्वत्र चर्चा पायो।

यो भनेको नेपाली खेलकुद जगत्ले विश्वमा पाएको इज्जत पनि हो । नेपालले पश्चिम एसियाका मै हुँ भन्ने टोलीहरुलाई आच्छु–आच्छु बनाएको प्रतियोगिता पनि हो । केही वर्षअगाडिसम्म पनि नेपालले गोलको भारी लिएर फर्कने गथ्र्यो तर यसपटक भने विपक्षी टोलीहरुमाथि गोलको वर्षा गर्न सफल भएको छ ।

नेपालले समूह चरणमा सिरियालाई ४–१ गोलअन्तरले पराजित ग¥यो भने अर्को खेलमा इराकलाई ५–० गोल अन्तरले हराउँदा पाँचै गोल सावित्रा भण्डारीले गरिन् । यो प्रदर्शनले वाफ प्रतियोगितामा निकै चर्चा पाएको थियो । त्यहाँ कमेन्ट्री गरिरहेकाहरुले नेपालमा पनि यस्तो राम्रो खेलाडी रहेछन् भनेर टिप्पणी गरिरहेका थिए ।

यस्तै समूह चरणकै अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले पराजित गरेको थियो। यसपछि नेपालले सेमिफाइनलमा गत संस्करणको उपविजेता टोली लेबनानलाई २–१ ले पन्छायो भने फाइनलमा ५ पटकको विजेता टोली जोर्डनलाई निर्धारित समयसम्म २–२ गोलको बराबरीमा रोक्न सफल भयो नेपाल ।

यो प्रदर्शन नेपालले कुनै राम्रो सुविधा पाएर गरेको पनि होइन । नेपालमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यशैली खासै खेलाडीको भावना बुझ्ने खालको छैन। एन्फाले न सुविधा दिएको छ, न समयमै तलब उपलब्ध गराएकै छ। तैपनि नेपाली महिला फुटबल टिमले गरेको प्रदर्शन अहिले विश्वमै चर्चाको विषय भइरहेको छ।

यो प्रदर्शनको लागि नेपाल सरकारले छिट्टै पुरस्कार रकम उपलब्ध गराइदिनु पनि पर्छ। उपाधि जिते मात्रै रकम पुरस्कार दिने होइन कि जितेसरह प्रदर्शन गरेका खेलाडीलाई त कमसे कम सरकारबाट पुरस्कार सहयोगको रुपमा दिइनुपर्छ। नेपालका महिला फुटबलरहरु अहिले नेपालमै सीमित छैनन् ।

नेपालको लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेर इतिहास कोरेकी सावित्रा भण्डारी त युरोपको एक प्रतिष्ठित लिगमा खेलिरहेकी छन्। उनी फ्रान्सको लिग वानमा खेलिरहेकी छिन् र गोल पनि गरिसकेकी छन् । गीता राना, रश्मी घिसिङ, अमृता जैसी र गोलरक्षक एन्जिला सुब्बा भारतीय लिगमा खेलेका छन्।

यदि यो टिमलाई राम्ररी तयारी गर्न सरकार र सम्बन्धित निकायले जमर्को गरेमा भोलिको दिनमा नेपालले महिला विश्वकप खेल्न सक्नेछ। उनीहरुमा जोश छ, कला छ।

यति मात्रै होइन, उनीहरुले ९० मिनेटसम्म प्रभावकारीरुपमा खेल्न सक्ने क्षमता रहेको पनि साबित गरिसकेका छन् । खालि फुटबल हेरेर वाह भनी बधाई दिने होइन.कि उनीहरुलाई हौसला प्रदान गर्नुका साथै बेग्लै प्रशिक्षणको पनि आवश्यकता छ।

यसको लागि एन्फाले सरकारसँग समन्वय गर्नु अहिलेको आवश्यकता हो । एन्फाले नेपाली टिमको भव्य स्वागत गर्‍यो तर, खेलाडीको लागि अहिलेसम्म केही पनि घोषणा गरेको छैन।

सरकार पनि चुपचाप नै देखिएको छ । हौसला प्रदान गर्ने खालको कुनै प्याकेज पनि आएकै छैन। यस्तो राम्रो प्रदर्शनमा पनि सरकार किन निष्क्रिय देखिएको हो, बुझ्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्