उपकुलपतिसमक्ष चुनौती



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा नियुक्ति हुनुभएका केशरजंग बरालका बीच दर्जनौं चुनौती छन्। चुनौतीको चाङमाथि उभिनुभएका उपकुलपति बराल त्रिविलाई राजनीतिबाट हस्तक्षेपमुक्त बनाउन चाहनुहन्छ।

पोखरा विश्वविद्यालयको साख जोगाउन महत्वपूर्ण भूमिका खेल्नुभएका उपकुलपति बराललाई त्रिवि सुधार्ने ठूलो अवसर पनि मिलेको छ। ४ वर्षका लागि नियुक्त हुनुभएका उपकुलपति बराललाई राजनीतिले पूर्णरूपमा गाँजेको त्रिविलाई कसरी मुक्त गर्ने भन्ने विषय मुख्य चुनौती छ।

त्यतिमात्र होइन, समयमा परीक्षाफल नपाएर हैरान भएका विद्यार्थीलाई समयमै परीक्षाफल प्रकाशित गर्नु उहाँको अर्को चुनौती हो। पनिकाको लापरबाहीको कारण समयमै परीक्षाफल प्रकाशित हुन सकेको छैन।

त्यसले गर्दा विद्यार्थीको भविष्यमा ठूलो धक्का लागेको छ। विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको यस विषयमा तत्काल सम्बोधन गर्नुपर्छ। त्रिविले परीक्षामा सुधार गर्न सके उपकुलपतिको भनाइ सार्थक हुनसक्छ। ठूलो चुनौती अन्त्य हुन्छ।

लामो समयदेखि संकायका डिन, सहायक डिन, क्याम्प सप्रमुखलगायत विभिन्न विभाग, आयोग र अध्ययन संस्थानजस्ता विभिन्न निकायमा राजनीतिक भागवण्डा हुने गरेको छ।

ती निकायमा हाम्रो भन्दा पनि राम्रोलाई अवसर दिन सक्नु उपकुलपति बरालको अवसर र चुनौती हो। विभिन्न पदमा नियुक्ति गर्न उहाँले कसरी राजनीतिक सहमति जुटाउनुहन्छ भन्ने विषय पेचिलो छ।

त्रिविको बिग्रिएको साख कसरी जोगाउने भन्ने विषयमा उहाँ गम्भीर हुनुपर्छ। त्रिविमा हाजिर गर्ने तर अर्कै कलेजमा पढाउने प्रवृत्ति रहेका ‘हेल्मेट शिक्षक’लाई कसरी रोक्ने भन्ने विषयमा उपकुलपतिको ध्यान जानुपर्छ।

हुन त त्रिवि सुधार्ने कसम खाएर कुर्सीमा बस्नुभएका उपकुलपति बरालले पहिलो काम नै गलत गर्नुभएको छ। भागवण्डाको आधारमा माओवादी र कांग्रेस निकटका डिनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको छ।

अघिल्ला उपकुलपति शिवलाल भुसालकै पद पच्छ्याउँदै गरिएको दुई निमित्त नियुक्तिले थप चुनौती थपिएको छ। यस्तै शिक्षकभन्दा विद्यार्थी कम रहेका विषय व्यवस्थापन गर्नु छ।

राजनीतिशास्त्र, संस्कृत, हिन्दी, शिक्षा, इतिहासजस्ता दर्जनौं विषयमा विद्यार्थी नभएका तर शिक्षक धेरै भएका विषयका स्थायी शिक्षकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय चुनौती छ।

नयाँ पाठ्यक्रमको आधारमा पढाउने क्षमता नभएका शिक्षकलाई कसरी युगअनुसार पठनपाठन गराउने, पार्टीका कार्यकर्ताका रूपमा त्रिविमा जागिर खाएका कर्मचारीलाई कसरी काम गर्न लगाउने, सेवा र सुविधामा देखिएको विभेद कसरी अन्त्य गर्नेलगायत विषय नयाँ उपकुलपतिका लागि चुनौती छ।

समयसापेक्ष शुल्क समायोजन, अनुगमनलाई तीव्रता, त्रिविको सम्पत्तिको यकिन तथ्यांक निकालेर त्यसको संरक्षण गर्ने, कक्षाकोठा र पुस्तकालय व्यवस्थापन, एकद्वार खाता प्रणालीको शुरुआत, आर्थिक पारदर्शिता, भद्दा संरचनालाई व्यवस्थापन गर्नु उहाँको लागि चुनौती हो।

समयसापेक्ष पाठ्यक्रम परिमार्जन, विद्यार्थीलाई विदेशिनबाट रोक्न नेपालमै नयाँ विषयको पढाइ शुरु गर्न सक्नुपर्छ। यी चुनौती समाधान गर्न तत्काल पहलकदमी गरे त्रिविको मात्र होइन, उपकुलपतिको समेत उचाइ बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्