माओवादीमा आन्तरिक असन्तुष्टि तीव्र



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा भएको कार्य विभाजनलाई लिएर आन्तरिक असन्तुष्टि तीव्र रुपमा बढेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित रुपमा असहमति जनाउनुभयो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउनुभएको असहमति शर्माले भन्नुभएको छ– ‘विधान अधिवेशनलगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति बेवास्ता गर्नु र पारित विषयलाई बेवास्ता गरी विधिविहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद कुरा हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न माग गर्दछु ।’

स्थायी कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटकपटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिका बीच पारित गरिएका निर्णयहरूप्रति गम्भीर असहमति रहेको उहाँले उल्लेख गर्नुभएको छ।

शर्माले लेख्नुभएको छ– ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ।’

जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने नीति बनाएको माओवादीमा अध्यक्ष प्रचण्डले राष्ट्रियसभा सदस्य रहेका आफ्ना भाइ नारायण दाहाललाई बागमति इन्चार्ज दिएपछि पार्टीभित्र भाँडभैलो भएको छ ।

स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरी विकल्प नदिई अपमानित गरिएको र सो प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती, महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपयलाई पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भीर रहेको पार्टी उपमहासचिव जनार्दन शर्माको आरोप छ।

प्रतिक्रिया दिनुहोस्