गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान



काठमाडौं ।

भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न टेण्डर आह्वान गरेको छ। निर्माण अलपत्र परेको रङ्गशालामा पहिलो चरणको काम गर्न महानगरले एक अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। धुर्मुस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो।

भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ।

रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने महानगरपालिकाका वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए। टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ।

रङ्गशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ। यो काम पुरा हुँदा रङ्गशालाको क्षमता १५ हजार जनाको पुग्नेछ।

महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रङ्गशाला निर्माणको प्रक्रिया थालेको हो।

रङ्गशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ। रङ्गशालाको सबै काम पुरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ। पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।

यसअघि, बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रङ्गशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रङ्गशाला निर्माण गर्ने निश्चित भएको थियो।

प्रतिक्रिया दिनुहोस्