भ्रष्टाचार नियन्त्रणमा क्रियाशीलता



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला–ठूला भ्रष्टाचार काण्डको अनुसन्धान टुंग्याएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारीलाई तीव्रता दिएको छ।

ललितानिवासजस्ता सार्वजनिक सरकारी जग्गा हडप्ने समूहविरुद्ध कठोर बन्दै आइरहेको अख्तियारले अन्य ठूला–ठूला भ्रष्टाचार मुद्दामा पनि छानबिनलाई तीव्रता दिएको समाचारले आगामी दिनमा भ्रष्टाचार न्यूनीकरण होला कि भन्ने आशाको त्यान्द्रो पलाएको छ ।

अख्तियारले टेरामक्स प्रकरण, ७० करोड टेप प्रकरण, एमडीएमएस, वाइडबडीलगायतका विषयमा तीव्ररुपमा विस्तृत छानबिन र अनुसन्धान गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बताउनुभएको हो ।

टेरामक्स खरिद प्रक्रियामा भएको अनियमिततासम्बन्धी छानबिन अन्तिम चरणमा पुगेको समेत उहाँले जानकारी दिनुभएको छ । अख्तियार यसरी क्रियाशील भएको खबरले भ्रष्टाचारमा होमिएका राजनीतिक व्यक्तित्व मात्र नभएर भूमाफिया एवं विभिन्न काण्डका बिचौलियाका मनमा समेत शायद ढ्याङ्ग्रो ठोकिसकेको हुनसक्छ । त्यसैले अहिले भ्रष्टाचार न्यूनीकरणका लागि भइरहेको क्रियाशीलताको सराहना गर्नै पर्छ ।

हुन त नेपालमा भ्रष्टाचारको मूल जरो राजनीतिक व्यक्तित्व र कर्मचारीतन्त्र हो । अवस्थाअनुसार राजनीतिक व्यक्तित्वले साम, दाम, दण्ड, भेद सबै हत्कण्डा उपयोग गरी शक्ति र सत्ता हत्याउने अनि त्यसको दुरुपयोग गरी भ्रष्टाचार गर्ने प्रवृत्ति यहाँ व्याप्त हुन पुगेको छ।

शक्ति र सत्ता आफ्नो हातमा भएपछि आफ्ना मान्छेलाई आर्थिक चलखेल हुने ठाउँमा भर्ती गरी त्यसलाई दुहुनो गाई बनाउने प्रवृत्ति राजनीतिक वृत्तमा हुन पुगेको छ।

यसरी राजनीतिक तहबाटै कर्मचारीतन्त्रमा पनि भ्रष्टाचारले स्थान पाउन पुगेको नकार्न सकिँदैन। भ्रष्टाचार गर्ने कर्मचारी संयन्त्रलाई राजनीतिक संयन्त्रबाट संरक्षण हुनाले पनि भ्रष्टाचार झनै मौलाउँदै गएको हो।

यसले गर्दा भ्रष्टाचारीहरुको मनोबलसमेत बढ्दै गई कतिपय कार्यालयमा टेबुलमुनिको हातमा केही नथमाएसम्म काम नै नहुने अवस्था सृजना भयो।

यस प्रवृत्तिलाई ठूला राजनीतिज्ञदेखि ठूला ओहदाका कर्मचारीबाट समेत संरक्षण हुन पुग्यो र ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनमा नेपाल भ्रष्टाचारमा अग्रपंक्तिमा दर्ज हुन पुग्यो।

यसरी भ्रष्टाचारको मूल जरो राजनीति नै भएकाले राजनीतिक तहबाटै भ्रष्टाचार निर्मूल गर्ने प्रयास गरिनुपर्छ । भाँडो नै नताते बीँडमात्र तातेर हुँदैन ।

भ्रष्टाचार देशको समृद्धिको सबैभन्दा ठूलो बाधक हो। भ्रष्टाचारकै कारण मुलुकमा अपेक्षाकृत विकास निर्माणका कार्यले गति लिन सकिरहेको छैन। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न सर्वप्रथम राजनीतिलाई पेसा नभएर सेवाको रुपमा लिनुपर्छ।

यसका लागि जनता नै सचेत भएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ। जनताले भ्रष्ट पार्टी र नेतालाई चुनावमा बहिष्कार गर्नु सक्नुपर्छ। यसै गरी कुनै पनि संस्था वा आयोगमा सरकारद्वारा गरिने नियुक्तिमा दलको झन्डा बोकेका वा सरकारमा रहनेहरुका नातेदारहरुलाई नियुक्ति दिने परिपाटीको अन्त्य हुनुपर्छ।

यो प्रवृत्ति रहेसम्म भ्रष्टाचार न्यूनीकरण हुन सक्ने देखिँदैन। जे होस्, पछिल्लो समय भ्रष्टाचार नियन्त्रणका लागि भएको अख्तियारको क्रियाशीलताको सराहना भने गर्नै पर्छ।

प्रतिक्रिया दिनुहोस्