नेपाल विदेशीको क्रीडास्थल नबनोस्



काठमाडौं ।

दक्षिण एसियामा नेपाल सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। दुई विशाल छिमेकी मुलुक चीन र भारतको बीचमा रहेको नेपाललाई अहिले विश्वका शक्तिशाली देशले आँखा लगाउने गरेका छन्।

नेपाललाई आफ्नो अनुकूल प्रयोग गर्न चाहने मुलुकहरुले आफ्ना संयन्त्रहरुलाई नेपालमा परिचालन गर्नुका साथै आफ्नो अनुकूलको निर्णय गराउनेतर्फ सक्रिय भएको पाइन्छ। यसले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठेको छ।

नेपाललाई आफ्नो अनुकूल प्रयोग गर्न छिमेकी मुलुकहरु सक्रिय भएर लागेको भन्दै कूटनीतिज्ञहरुले चिन्ता व्यक्त गरेको पाइन्छ। तर शासकहरु भने आफ्नो सत्ता जोगाउन जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्नु मुलुकका लागि दुःखद खबरको रुपमा लिनुपर्ने हुन्छ।

नेपाल अहिले विश्व राजनीतिक मानचित्रमा अग्रभागमा रहेको पाइन्छ। दुई छिमेकी मुलुक मात्र होइन अमेरिका, युरोपेली युनियनलगायतका विश्वका उदयमान शक्ति राष्ट्रको नजरमा समेत नेपाल पर्ने गरेको छ।

नेपालले शक्ति राष्ट्रसँग जति फाइदा लिनुपर्ने थियो त्यो लिन सकेको पाइँदैन। तर नेपाल शक्ति राष्ट्र अनुकूल प्रयोग भएको पाइन्छ। नेपालका लागि यस्ता अवसर मुलुकको हितका लागि प्रयोग गर्न सक्ने वातावरण राज्य सञ्चालन गर्ने शासकहरुले बनाउन सक्नुपर्ने थियो तर त्यो हुन सकेको पाइँदैन ।

अरुका लागि प्रयोग हुने नीतिलाई राज्य सञ्चालकहरुले त्याग्न नसकेसम्म नेपाललाई शक्ति राष्ट्रहरुले आफ्नो अनुकूल प्रयोग गर्ने भएकाले त्यसतर्फ सचेत हुने नेतृत्व अहिले मुलुकका लागि खड्किएको छ। सबै नेपालीले नेपालको हितभन्दा बाहिर कुनै शक्तिले मुलुकलाई प्रयोग गर्न खोज्यो भने त्यसतर्फ सचेत गराउनुपर्ने देखिन्छ।

नेपाललाई आफ्नो अनुकूल प्रयोग गर्न चाहने मुलुकका प्रतिनिधिहरुको नेपाल भ्रमण बाक्लो भएको पाइन्छ। उनीहरुले नेपालको आन्तरिक मामिलामा खेलेर आफ्नो स्वार्थ सिद्ध गर्ने र नेपाली–नेपालीबीच द्वन्द्व सिर्जना गराएर फाइदा लिनेहरुप्रति सचेत हुनुपर्ने अवस्था छ।

अहिले दुई छिमेकी मुलुकबीचको चिसोपनका कारण नेपाली भूमि प्रयोग गरेर ती दुई मुलुकले एक–अर्कालाई हेर्ने गरेको पाइन्छ। त्यसैले सार्वभौमसत्ता सम्पन्न मुलुक भनिए पनि विदेशीहरुको क्रीडास्थलको रुपमा नेपाल प्रयोग हुनु पक्कै राम्रो होइन।

त्यसैले सत्ता सञ्चालकमात्र होइन, आम नेपाली नागरिक सचेत हुनुपर्ने अवस्था सिर्जना भएको छ। हामीले हाम्रो मुलुकलाई कसैको हित वा विरुद्धमा प्रयोग गर्न दिनुहुँदैन।

प्रतिक्रिया दिनुहोस्