लेबनानलाई हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा



काठमाडौं ।

नेपाल पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न सम्पन्न खेलमा लेबनानलाई २-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले एक-एक गोल गरे। त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता बनाएको थियो।

३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले गोल व्यहोरेको थियो।

खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएकी थिइन्। रोमाञ्चक बनेको खेलमा प्रीतिले खेलको अतिरिक्त समयमा सुन्दर गोल गर्दै नेपाललाई २–१ जित दिलाइन्।

अब नेपालले साविक विजेता जोर्डनसँग यही बिहीबार उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।  यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्