नक्कली डाक्टरलाई कडा कारबाही होस्



काठमाडौं।

जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्ने जो कोही व्यक्ति कानुन भन्दामाथि हुँदैन। दुई दिनअघि खोटाङ जिल्ला प्रहरी कार्यालयले नक्कली डाक्टर पक्राउ गरी प्रमाणितसमेत गरेको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गर्न सफल प्रहरी टिमलाई पुरस्कृत र अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्दछ। यस अगाडिका उदाहरणमा अपराधीलाई राजनीतिक आडमा छोडिएका प्रशस्त उदाहरण छन्।

ज्यान मार्ने उद्योग गर्ने नक्कली डाक्टर र उनका मतियारलाई कुनै पनि राजनैतिक दलको आडमा छुट दिने काम गर्नेलाई पनि कारबाही गर्ने कानुन बनाउन आवश्यक छ। कानुनले अपराधी ठहराएको व्यक्तिलाई कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिने काम गर्नुपर्छ । कानुनभन्दा माथि राजनीतिज्ञ हुनुहुँदैन।

२०६९सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईले एक नक्कली प्रमाणपत्रधारी स्वास्थ्यकर्मीको लापरबाहीबाट ज्यान गुमाउनुपरेको थियो।

उनकै परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरिएको थियो।

मानव जीवनमाथि खेलबाड गर्ने यस्ता ज्यानमारा डाक्टरलाई सरकारले हदैसम्मको कारबाही गर्नुपर्छ । नक्कली प्रमाणपत्रधारी मेहताले आफूलाई डाक्टर हुँ भन्दै आफ्नो पोलिक्लिनिकमा राईलाई भर्ना गराई दुईवटा सुई लगाएको ५ मिनेटपछि मृत्यु भएको किटानी जाहेरी परिवारले प्रहरीलाई दिएका छन्।

यस्तो गलत हर्कतको निष्पक्ष छानबिन गरी अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिने कार्यमा सरकारको ध्यान पुग्नुपर्छ ।

सुई लगाउने व्यक्ति मेहता नै भएको र उनीसँगै अन्य दुई जना पनि सहयोगी रहेको किटानी जाहेरीका आधारमा नेपाल प्रहरीले मेहतालाई उनकै घरबाट पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग गरेका व्यक्ति राजनीतिक आडकै कारण खुलेआम हिँडेको र प्रहरीले प्रक्राउ गरेपछि पनि चौतर्फी रूपमा उनलाई छोड्न दबाब सिर्जना भइरहेको विषय सार्वजनिक भएको छ।

पीडितले न्याय पाउनुको साटो अपराधीले थप अपराध गर्न प्रोत्साहन भइरहेको छ । त्यसैले पनि अपराधीलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्छ ।

राईको मृत्युपछि क्लिनिक छोडेर फरार रहेका मेहतालाई माघ–२४ गते जिल्ला प्रहरी कार्यालय खोटाङले उनकै घरबाट पक्राउ गरेको थियो। छानबिनका क्रममा उपचारमा संलग्न नक्कली डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेस गरेर पोलिक्लिनिकमा काम गरेको यथार्थ खुलिसकेको छ।

त्यसकै आधारमा प्रहरीले सोही पोलिक्लिनिक सम्बद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साह र बोदेबरसाइन नगरपालिका–२ का ४२ वर्षकै अशोककुमार साहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

यस्तो आपराधिक क्रियाकलापमा संलग्न जो कोही भए पनि कानुनी रूपमा कडाभन्दा कडा कारबाही हुनुपर्छ। अपराधी कहीँ गए पनि कानुनबाट उम्कन सक्दैन भन्ने प्रमाणका रूपमा यस्ता घटनालाई नमूनाका रूपमा स्थापित गर्नुपर्छ।

नेपाल सरकारले कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई छुट दिँदैन कानुनी दायरामा ल्याएरै छाड्छ र पीडितलाई न्याय दिन प्रतिबद्ध छ भन्ने विश्वास दिलाइनु पर्छ।

पेशाको बर्खिलापमा उत्रेर जनस्वास्थ्यमाथि खेलबाड गर्ने कसैलाई छुट छैन र यस्ता व्यक्तिलाई राजनैतिक आडमा उन्मुक्ति दिनुहुँदैन। यसरी स्वास्थ्यकर्मीका नाममा बदनामी गर्दै आपराधिक क्रियाकलापम संलग्न व्यक्तिको सबै लाइसेन्स खारेज गर्नुका साथै आजीवन कारावासको व्यवस्था हुनुपर्छ।

यस्ता विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानसमेत जान आवश्यकता छ। तत्कालीन स्वास्थ्य मन्त्रीले भाषण हैन यस्ता गतिविधिलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिनुपर्छ।

त्यस्तै, नेपाल चिकित्सक संघले यस्ता व्यक्तिलाई संघको सदस्यता दिनुहुँदैन। राजनैतिक दलहरूले यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पार्टीको सदस्यता दिने र संरक्षण गर्ने काम बन्द गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्