‘पोश एण्ड बेक्स’ र ‘वेडिंग अफ द सेन्चुरी’



काठमाडौं ।

केही दशकयता नेपालमा पनि हरेक फेब्रुअरी १४ को दिनलाई ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रेम दिवसका रुपमा मनाउने गरिएको छ।

प्रेमील जोडीहरुलाई विवाह गराएका कारण ज्यान गुमाउनु परेका इसाई पादरी सेन्ट भ्यालेन्टाइन्सको सम्झनामा फेब्रुअरी १४ लाई प्रेम दिवसको रुपमा मनाउन थालिएको इतिहास छ।

यो नेपालीको मौलिक पर्व नभएपनि प्रेमसंग जोडिएका कारणले यसको लोकप्रियता संसारभर बढ्दो छ । हुनत नेपालमा पनि नेवार समुदायले धान्य पूर्णिमा (यःमरि पुन्हि) को भोलिपल्ट थिंल्लागाः पारू अर्थात् प्रतिपदाको दिनलाई ‘मतिना पारु’ को नामबाट प्रेम दिवस मनाउने गरेको इतिहास भेटिन्छ।

नेपाल भाषामा “मतिना“ भनेको मायाप्रेम हो भने “पारु“ ले प्रतिपदा तिथिलाई जनाउँदछ । यःमरि पुन्हि अर्थात् चाकु र चामलको पिठोबाट बनाइने एक प्रकारको परिकार खाने पुर्णिमाको दिनको भोलिपल्ट घर–घरमा गएर ‘यःमरि फ्वनेगु’ अर्थात् यःमरि माग्ने परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी प्रेमिका पनि खोजेर सुटुक्क कुरा गर्ने चलनलाई “मतिना पारु“ भनिएको हो ।

हुनपनि आखिर प्रेमबाट अछुटो को नै छ र । संसारको हरेक क्षेत्र झैं खेलकूदलाई कर्मथलो बनाएका जोडीहरु पनि थूप्रै छन् । सामाजिक सञ्जालमा खोज्ने हो भने ‘पोश एण्ड बेक्स’ बाट चर्चित डेभिड बेकहम र भिक्टोरिया एडम्सको प्रेम प्रसंगले पनि राम्रै चर्चा बटुलेका छन्।

आकर्षक फ्रीकिक प्रहार गर्न माहिर बेकहम इंग्ल्याण्ड राष्ट्रिय टिमका पूर्व कप्तान एक समय संसारकै सर्वाधिक धनी फुटबल खेलाडीका रुपमा समेत चर्चित थियो। यिनै बेकहमको जीवनसंगिनी नाम हो भिक्टोरिया एडम्स।

जो एक समय निकै चर्चित सांगीतिक ब्याण्ड ‘स्पाइस गर्ल’ का महत्वपूर्ण सदस्य समेत थिईन्। उनी ‘पोश स्पाइश’ नामबाट चर्चित छन्। त्यतिमात्रै होइन, गायिका हुनाका साथै भिक्टोरिया फेशन डिजाइनर र टेलिभिजन प्रस्तोता समेत हुन्।

यी दुवैले सन् १९९७ मा एक अर्कालाई डेट गर्न सुरु गरेका थिए । म्यानचेस्टर युनाइटेडको म्याच हेर्न स्टेडियम पुगेका भिक्टोरिया बेकहमलाई देखेर आकर्षित भएकी थिईन्। खेलपछि एउटा लाउन्ज कार्यक्रममा परिवारसँगै बसेका बेकहमको मन्द मुस्कानलाई उनी प्रभावित बनेकी थिईन्।

परिवारसँगै बसेका कारण भिक्टोरियाले बेकहमलाई पनि आफू जस्तै सामाजिक स्वभावको पाईन् । यता बेकहमले त्यसअघि नै आफ्नो क्लब सहकर्मी गेरी नेभिललाई स्पाइस गर्ल ब्याण्डको फोटो हेर्दै भिक्टोरिया आफ्नो जीवनसंगिनी भनेर ठट्टा गर्ने गर्थे । संयोग नै मान्नुपर्छ, बेकहमको उक्त ठट्टा वास्तविकतामा परिणत भयो।

जसका कारण उक्त कार्यक्रममा भिक्टोरियालाई देखेर बेकहमलाई ‘लभ एट फस्र्ट साइट’ भएको थियो। त्यसपछि भिक्टोरिया म्यानचेस्टर युनाइटेडको म्याच हेर्न स्टेडियम पुग्न थाले। जसका कारण दुवैको घनिष्टता बढ्न थाल्यो।

यी दुवैले एकअर्कालाई डेट गर्न सुरु गरे । जसका कारण दुवैलाई ‘पोश एण्ड बेक्स’ भनेर पनि सम्बोधन गर्न थालियो। डेट सुरु गरेको एकवर्षपछि अर्थात् १९९८ मा बेकहमले भिक्टोरियालाई विवाहको प्रस्ताव राखेका थिए । त्यसको एक वर्षपछि यी दुवैले लगनगाँठो कसे।

बाल्यकालका साथी जीवनको सहयात्री बनेका लियोनल मेसी दम्पत्तिको प्रेम प्रसङ्ग पनि कम रोचक छैन। मेसीले आफ्नो अर्धाङ्गिनी एन्टोनेला रोकुज्जोलाई पाँच वर्षको कलिलो उमेरमा नै भेटेका थिए।

यी दुवै बाल्यकाल देखिका साथी पनि हुन् । यी दुवै अर्जेन्टिनाको रोसारियोमा बस्ने गर्थे । मेसी ११ वर्षको उमेरमा बार्सिलोना जानु अगाडि रोसारियोको स्थानीय क्लबबाट फुटबल खेल्ने गर्थे।

त्यस समयमा यी दुवैजना राम्रो मित्र बनिसकेका थिए । जोडी भगवानले नै बनाएर पठाउँछ भने झैं यी दुवैको पुनः भेट सन २००५ मा भएको थियो । यसको कारण चाहिँ एउटा दुर्घटना थियो।

रोकुज्जोको सबैभन्दा प्रिय मित्र उर्सुला नोट्जको सवारी दुर्घटनामा मृत्यु भएको थियो । जसबाट रोकुज्जो निक्कै विक्षिप्त बनेकी थिईन् । यो कुरा थाहा पाएपछि बार्सिलोनाबाट अर्जेन्टिना पुगेर मेसीले रोकुज्जोलाई सान्त्वना दिन पुगेका थिए। उनले रोकुज्जोलाई उक्त शोकबाट सामान्य जीवनमा फर्काउन ठूलो सहयोग गरेका थिए।

त्यसपछि यी दुवैको भेटघाट बांक्लिदै गयो। जुन प्रेमसम्बन्धमा परिणत हुन धेरै समय लागेन। सन् २००९ मा यी दुवैले प्रेमसम्बन्धमा रहेको सार्वजनिक गरेका थिए। त्यसपछि सन् २०१२ मा यी जोडीले पहिलो सन्तान थियागोलाई जन्म दिए।

त्यसको तीन वर्षपछि २०१५ मा यी जोडीले दोस्रो सन्तान माटियोलाई पनि जन्म दिए । त्यसको दुई वर्षपछि मात्र अर्थात् २०१७ मा यी जोडी विवाह बन्धनमा बाँधिए। जसलाई ‘वेडिंग अफ द सेन्चुरी’ भनिएको छ।

प्रतिक्रिया दिनुहोस्