पार्किङको समस्या समाधान गर



काठमाडौं ।

सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको टसलका कारण धरहराको भूमिगत पार्किङ समस्या देखिएको छ। धरहराको निर्माण सम्पन्न नभएका कारण पार्किङ गर्न नदिने अडान सरकारको छ।

काठमाडौं महानगरपालिकाले भने आफ्नो स्वामित्वमा रहेको धरहरामा पार्किङ नरोकिने जनाएको छ। भूकम्पले ध्वस्त धरहरा परिसर पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ।

काम सकिएपछि मात्रै पार्किङ खुला गर्ने योजना सरकारको थियो । तर, कामपाका मेयर बालेन्द्र साहले सरकारसँग सल्लाह नै नगरी धरहराको भूमिगत पार्किङ खुला गरेका थिए।

त्यसले गर्दा पार्किङ गर्न आउने यात्रुलाई समेत समस्या परेको छ। पार्किङ गरौँ सरकारले बन्द गरिदेला, नगरौँ कहाँ पार्किङ गर्ने ? समस्या बढेको छ।

मेयर साहको जिद्दीपनका कारण धरहराको भूमिगत पार्किङमा समस्या बढेको छ। राज्यले गरेको निर्णय कार्यान्वयन गर्ने निकाय कामपाले तत्कालका लागि धरहराको भूमिगत पार्किङ खाली गराउनु उचित हुन्छ।

सहरी विकास मन्त्री सीता गुरुङले दिएको निर्देशन अटेर गर्ने महानगरलाई छुट छैन। न्युरोड आउने यात्रुलाई विकल्प नदिईकनै हचुवाको भरमा महानगरले धरहराको भूमिगत पार्किङमा सवारी साधन राखेपछि निर्माण कम्पनीलाई काम गर्न असहज भएको छ।

कामपाले सो क्षेत्रमा २ हजार २ सयवटा २ पाङ्ग्रे र ३ सयवटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको जनाएको थियो। न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङको संख्याभन्दा बढी भएको दाबी महानगरको छ।

महानगरको यो निर्णयलाई न्युरोडका व्यापारीले स्वीकार गरेका छैनन् । उनीहरूले न्युरोडमै व्यवस्थित पार्किङ माग गरेका छन्। कामपाले सरकारको लिखित निर्देशन अटेर गरेर १ हजार ५ सय २ पाङग्रे सवारी साधन अट्न सक्ने भन्दै सोही क्षेत्रमा पार्किङ गर्न आह्वान गरेको छ।

कामपाले न्युरोडका व्यापारी र यात्रुका लागि काठमाडौं टावरमा ७ सयओटा २ पाङ्ग्रे र ३ सयओटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराएको छ।

यसबाहेक न्युरोडको ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सक्ने जनाएको छ।

पार्किङलाई व्यवस्थित गर्न नसकेको महानगरले हचुवाको भरमा संख्या तोकेर पार्किङ व्यवस्थापन गरेको जनाएपछि समस्या बढिरहेको छ।

महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिने हचुवाको दाबी गरेको छ ।

यसअघि गएको वर्ष दरबारमार्ग, बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत दर्जन बढी स्थानको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो।

पार्किङ निषेध गरेर समस्याको समाधान हुँदैन। सवारी चालक र व्यापारीलाई विकल्प दिएर पार्किङ व्यवस्थापन गर्नु उचित हुन्छ। सरकारले तत्काल पार्किङ नगर भनेको स्थानमा पार्किङ गर्न दिएर बहादुरी देखाउनु उचित हुँदैन।

प्रतिक्रिया दिनुहोस्