जनताको मन दुखाउने काम बन्द गर



काठमाडौं ।

यतिखेर नेपाली राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ। प्रमुख राजनीतिक दल र तिनका नेताहरूले गरेका गलत कार्यका कारण मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग कमजोर बन्दै गइरहेको छ।

आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको विषयलाई हाम्रा राजनीतिक दल र नेताहरूले कहिल्यै पनि प्राथमिकतामा राख्न सकेनन्।

आफ्नै स्वार्थ सेक्ने, स्वार्थ र अवसरका लागि जस्तासुकै हर्कत गर्न पनि पछि नपर्ने प्रवृत्तिले नेपालको राजनीतिलाई विकृत र कमजोर बनाइदिएको छ।

यतिसम्म कि राजनीतिक दल र तिनका नेताहरूको गलत संस्कार र भ्रष्ट प्रवृत्तिका कारण यति छोटो समयमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोजिनुपर्ने आवाजहरू उठिरहेका छन्। जुन निकै दुःखद् हो।

सत्ताधारीहरू कुनै महत्वपूर्ण पदमा राजनीतिक नियुक्ति दिनु परेमा तथा आफ्ना आसेपासे अनुचरलाई राज्यको प्रमुख निकायमा लैजाने समयमा ककसलाई कहाँ–कहाँ लैजाने भनेर निकै गम्भीर किसिमले छलफल गर्ने गर्छन्।

यसरी नै हाम्रा राजनीतिक दल र सरकार तथा सरकारमा रहेका मानिसहरू जनताका दैनिक समस्या सम्बोधन गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर छलफल गरेको र दौडधुप गरेका दृश्यहरू खासै देख्न पाइँदैन।

केहीबाहेक देशका अधिकांश ठाउँ ग्रामीण तथा विकास नभएका छन्। त्यसैले ग्रामीण क्षेत्रको विकास बिना सिंगो देशको विकास सम्भव नै छैन।

केन्द्रीय सरकारले गाउँको विकासका लागि स्थानीय तहसँग उचित समन्वय गर्न सकेको छैन भने केन्द्रीय तहबाट हुने ठुला ठुला विकासका आयोजनाहरू समेत गाउँ–गाउँसम्म पुग्न सकेका छैनन्।

ठूलो लक्ष्य लिएर शुरू गरिएका राष्ट्रिय गौरवका आयोजनाहरू पनि निकै सुस्त छन्। सरकारले ती आयोजनाहरूको नियमित र प्रभावकारी अनुगमन गर्न सकेको छैन। जनता मारमा पर्नेगरी महँगी बढेको बढेकै छ। बढ्दो महँगीका कारण जनता बिहान र बेलुकी के खाउँ भन्ने समस्याले प्रताडित थालेका छन् ।

नयाँ शासन प्रणालीका साथ बनेका सरकारहरूले जनताको मन जित्ने गरी काम गर्छ भन्ने विश्वास थियो। तर, सरकारहरूले त्यसरी काम गर्न नसक्दा जनताको मन कुँडिएको छ। धेरै जनताको मन दुखेको छ।

यो सरकार तथा राजनीतिक दलका लागि अशुभ संकेत हो। यसमा उनीहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ। गत निर्वाचनमा आमजनताले प्रमुख दलहरूलाई सच्चिनुपर्ने सन्देश दिएका थिए।

वैकल्पिक शक्तिको उदय यसैका कारण हो। तर, निर्वाचनमा जनताले दिएको सन्देशलाई अहिले पनि प्रमुख दल तथा शासकहरूले अवमूल्यन गरिरहेको देखिन्छ।

सरकार र राजनीतिक दलको सबैभन्दा ठूलो शक्ति भनेकै जनता हुन्। आवधिक निर्वाचनमार्फत् जनताले नै सरकारको छनोटसमेत गर्ने गर्छन्।

यति महत्वपूर्ण भूमिकामा रहेका आमजनताले भोग्नुपरेका समस्या समाधान गर्न सकेमा मात्रै जनताको शक्ति आफूतर्फ केन्द्रित गर्न सकिन्छ भन्ने विषयलाई राजनीतिक दलले गम्भिरतापूर्वक लिएको देखिँदैन। उनीहरूमा सत्ता स्वार्थ र तिकडमबाहेक अरू केही गरेको देखिएको छैन।

सरकारको असफलताका कारण आमजनतामा निराशा उत्पन्न भयो भने जनतामा राजनीतिक लगाव पैदा हुँदैन। त्यस्तो स्थिति आयो भने जनताले शासकीय व्यवस्थाकै विकल्प पनि खोज्न सक्छन्।

त्यस्तो अवस्था आउन नदिन पनि वर्तमान शासक र प्रमुख दलहरू सच्चिएर जनभावनाअनुसार अघि बढ्नै पर्छ। उनीहरूले अब जनताको मन दुख्ने खालका कुनै पनि कार्यहरू गर्नु हुँदैन। जनताको मुहारमा खुसी र आशा छर्ने तरिकाले काम गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्