शासकको भविष्य सहिदको रगतले नकोरौँ



काठमाडौं ।

आज माघ १६ गते अर्थात् सहिद दिवस । देश र जनता सर्वोत्तम हितका लागि प्राण आहुति दिने महान आत्माहरूलाई सगौरव स्मरण गर्ने दिन।

सहिदको स्मरणले पनि मानिसलाई देश र जनताको हितको लागि कल्याणका लागि अघि बढ्ने जोशजा“गर पैदा हुन्छ। त्यसमाथि सहिद दिवस, जुन दिनले नागरिकलाई देश र जनताको हितको लागि मार्गमा विचलित नभईकन अघि बढ्ने प्रेरणा र संकल्प प्रदान गर्ने गर्दछ।

यस दृष्टिले कुनै पनि राष्ट्रका लागि सहिद दिवस आफैंमा युगान्तकारी महत्व राख्ने पवित्र दिन हो। यस दिनको स्मरणले आफ्नो स्वार्थ, पारिवारिक हितलाई तिलाञ्जली दिई बहुजन हित र सुखको लागि जीवन उत्सर्ग गर्ने युगीन व्यक्तिलाई स्मरण गर्ने कार्यले भावी पुस्ता तिनका आदर्श र मूल्यमा हिँड्न सदवै प्रेरित गर्ने गर्दछ।

तर, आजको राजनीति, देश जनताले भोग्नुपरिरहेको कष्ट, दुःखको सापेक्षतामा सहिद दिवस मनाउने क्रममा देश र जनताका जीवन बलिदानी दिने सहिदहरूको रगतप्रति आजका शासक, नेतृत्वकर्ताले ठट्टा, मजाक त गरिरहेको छैन भन्ने हरेक नागरिकको मनमा स्वाभाविक र सहज रूपमा प्रश्न उठ्ने गरेको छ।

यो प्रश्न भनेको सहिदले देखाएको बाटो र तिनका आदर्शविपरीत राज्य सञ्चालन गर्दै गर्दाको अवस्थाको उपज हो। यसतर्फ गम्भीर नभएमा सहिदको रगतप्रति सदैव अन्याय गरेको ठहर्नेछ।

कुनै व्यक्ति रहरले मात्र सहिद हुने होइन। निरंकुश र जहानियाँ राणाशासन विरुद्ध लड्ने सहिद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथचन्द ठाकुरको जीवन सरसर्ती हेर्ने हो जहानियाँ र देश र जनतालाई अन्धकारमा राख्ने गरेको विरुद्धमा निरन्तर आवाज उठाउने क्रममा राणाशासकले व्यवस्थाको विरोधमा उत्रिन बन्द गर्ने कि र मृत्यु रोज्नेभन्दा तिनले हाँसीहाँसी ज्यान आहुति दिन तयार भए।

प्राण आहुति दिन तयार छु तर अन्यायको विरोध गर्न छाड्दिँन भन्ने संकल्प, दृढ इच्छाशक्ति र बलिदानले सहिद हुने हो।

त्यसै गरी पञ्चायत विरुद्ध तिस वर्षसम्म चलेको आन्दोलन, नेकपा (माओवादी)को १२ वर्षे सशस्त्र विद्रोह, २०६२ को जनआन्दोलन र वा मधेस आन्दोलन वा अन्य विभिन्न आन्दोलनका बलिदानी दिएका सहिदहरूको श्रृंखलाको बलमा आजको मुलक लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता राज्यव्यवस्था पदार्पण भएको हो।

अतः सहिद भनेका बलिदानीका प्रतीक हुन् । व्यवस्था र त्यसले थोपर्ने अन्याय, थिचोमिचो र शोषणविरुद्ध देश र जनताका लागि मर्न तयार हुने दृढताका प्रतिमूर्ति हुन्।

नेपालका प्रथम सहिद लखन थापामगरदेखि आजसम्मका सहिदले बलिदानीको भाव, बृहत्तर हितको भावनालाई शिरोधार्य गर्न प्रेरित गरिरहेको छ।

नेपालमा २००७ सालदेखि अहिलेसम्म अनेक आन्दोलन भयो। त्यसको बलमा क्रमशः उपलब्धिहरू पनि थपिँदै गएको छ। हरेक राजनीतिक परिर्वतनपछि आन्दोलनताका बाँडिएका, देखाइएका सपनाहरू अवसान हु“दा, परिर्वतनका एजेन्डाहरूबाट विमुख हुँदा उत्पन्न हुने निराशामा सहिदका रगतहरू खेर गएका छैन भन्ने प्रश्न सर्वसाधारणको मनमा उठ्दो रहेछ।

वास्तवमा त्यो प्रश्न हरेक परिर्वतनलाई आफ्नो सत्तास्वार्थ भर्‍याङका रूपमा बुझ्ने नेतृत्वको अक्षमताका कारण उठेको हो। आज पनि देशका बहुसंख्यकता जनता शोक र दर्दमा बाँच्न विवश छन्।

जातीय, वर्गीय विभेदबाट सिर्जित अन्यायहरू यथावत छन्। राज्यसंयन्त्रको पहु“चबाट अधिकांश जनता बाहिर छन्। यस्तो अवस्थामा सहिद दिवसको सार्थकता र पवित्र भावलाई जोगाइराख्न नेतृत्वको आचरण, क्रियाकलापप्रति खबरदारी गरिरहनुको विकल्प छैन।

जनता जागेपछि सहिद दिवसको अर्थ हुने हो । मरेतुल्य नागरिकका सामु सहिद दिवस फिक्का हुनु दोष सहिदको नभई अहिलेको परिस्थितिको कारणले हो। यसलाई बुझेर अवस्थालाई बदल्ने संकल्प गर्नुमा सहिदको सार्थकता निहित रहने छ।

प्रतिक्रिया दिनुहोस्