भलिबल खेलाडी पुनमलाई हाजिर हुन निर्देशन


काठमाडौं

नेपाल प्रहरीले नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार जारी गरेको सूचनामा पुनमसहित ७ जना अधिकारीहरूलाई गैरहाजिर रहनुको कारण स्पष्ट खुलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन उल्लेख गरिएको छ ।

प्रहरी कार्यालयले आफूखुशी गैरहाजिर रहेको, खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनी सम्पर्कमा नआएको जनाएको छ । त्यसैले उनलाई सात दिनभित्र कार्यालयमा हाजिर भई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।

पुनमलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान अन्तर्गतको शारीरिक सुगठन तथा खेलकुद शिक्षालयमा प्रहरी जवान पदमा दरबन्दी दिइएको हो । उनी नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी खेलाडीसमेत हुन् । तर, उनी गत चैत १५ गतेदेखि नै कार्यालयमा गैरहाजिर रहेको जनाइएको छ ।
पुनम घरेलु मैदानमा आयोजित काभा महिला भलिबल च्याम्पियनसिपका लागि केही समय प्रशिक्षणमा सहभागी भएकी थिइन् । तर, केही दिनपछि उनी अस्टे«लिया गएको स्रोतले जनाएको छ । साथै उनी अस्टे«लियाको सिडनी क्लबबाट खेलिरहेको पनि जनाइएको छ ।