सन्दर्भ : सहिद दिवस 

राष्ट्रका सपूत सहिद र सहिदको परिभाषा



काठमाडौं ।

नेपाल र नेपाली आमाका वन्दनीय सपूत देशभक्तिका उभार सहिदहरूका आर्दश, संघर्ष र बलिदानलाई आत्मसात हेतु शोषणरहित समतामूलक मानवसमाज निर्माणको पवित्र महा–अभियानमा हाम्रा समस्त सहिदहरूले इतिहासको हरेक कालखण्डमा निरन्तर, तर बलिदानीपूर्ण समर्पित सङ्घर्षको सन्देशलाई आजका सत्ताधारीहरूले यति हल्का, उपेक्षित र उपहासको रूपमा लिँदै आएका छन्।

हरेक वर्ष सहिद दिवस मनाउने परम्परा केवल औपचारिकतामा मात्र सीमित भएको छ । राष्ट्रनिमानको सुनौलो भविष्यका लागि जीवन उत्सर्ग गर्ने सच्चा सहिदहरूप्रति सम्मान प्रकट गर्ने कर्तव्यबोध समेत आज हुनसकेको देखिँदैन।

राष्ट्रको स्वाधीनतालाई सधैं आत्मसात गर्ने आदर्श सहिदहरूका बारेमा निरन्तर अध्ययन अन्वेषण हुनु अति जरुरी छ। किनकि, कुनै पनि चीजको विकास थोरैबाट धेरै, सतहबाट गहिराइमा, सामान्यबाट अति विशिष्ट एवम् मात्रात्मकबाट गुणात्मकतातर्फ निरन्तर रूपान्तरण हुने प्रक्रियासँग सन्निकट रहेर सहिदहरूका इतिवृत्तान्तका बारेमा विज्ञ अध्येताहरूबाट अध्ययन जारी राख्नु नितान्त अपरिहार्य छ।

विषयगत रूपमा सहिद भनेको कसैलाई मार्न खोज्ने प्राणी हैन, परन्तु आस्था र विश्वासको खातिर स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो। यस्ता व्यक्तिहरू लाखौंमा एक पाउन पनि कठिन पर्दछ । सहिद भनेको साझा हो र उसको आस्था विचार र कार्यको आधारमा राष्ट्रका अमर सहिदहरूले सम्मान र स्थान पाउनु पर्दछ।

सहिद शब्दको उत्पति, प्रयोग, अर्थ, परिभाषा र आर्दशका बारेमा सूक्ष्म र व्यापक विचार, अन्तरक्रिया एवम् अध्ययन अन्वेषण हुनु अति जरुरी छ। विक्रम  संवत् १९९७ साल माघ महिनामा मारिएका चारजना अमर सहिदहरू यसै कोटिमा पर्छन्।

नेपाल प्रजापरिषद्को नेतृत्वमा मारिएकाहरूलाई सहिदको रूपमा स्वीकार गर्न कुनै विवाद नै छैन र यी सहिदहरू सबैका लागि सर्वमान्य, प्रेरक र सर्वप्रिय पनि छन्।

देश राष्ट्र समाज र आफ्नो स्वाभिमानको हेतु निरङ्कुश राणा शासकहरूको सामु आजीवन कायरताको भिख नमाग्ने नेपाली आमाका यी वीर सपूतहरू दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नेपाली समाजका आभूषण हुन् । राणा शासकका सामु यदि माफी मागेको भए सायद उनीहरूले मृत्युवरण गर्नुपर्ने थिएन।

यी चारजना देशभक्त अमर सहिदहरूमध्ये संवत् १९९७ साल माघ १० गते शुक्रराज शास्त्री माघ १३ गते धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई अन्धकारमय रातको समयमा दर्दनाक यातनासहित मारिएको थियो।

एक हप्ताभित्र यसरी मारिएका शुक्रराज, धर्मभक्त, दशरथ र गङ्गालालले क्रमशः टेकु, सिफल र शोभाभगवतीमा देशभक्तिको बलिवेदीमा आफ्नो जीवनलाई चढाएका थिए।

इतिहास निर्माणमा सहिद भन्ने शब्द महान हो, तर विश्वमा नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ सहिदहरूका उद्देश्य, त्याग र सपना आजसम्म पनि पूरा हुन सकिरहेका छैनन्।

राज्य सञ्चालनका क्रममा नेतृत्व गर्ने वर्गहरूको बिबेकहिनता र चरम  निजी स्वार्थका कारण आज देशमा परिवर्तन ल्याउने सहिदहरू सधैं उपेक्षित रहँदै आएका छन्। अमर सहिदका परिवारहरूको अवस्था आज पनि उस्तै पीडादायी र जर्जर नै  रहेको छ।

नेपालका राष्ट्रवादी शासक जङ्गबहादुर कुँवरको उदयअघि आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको क्षमतावान नेतृत्वमा नेपाल एकीकरण अभियान यात्रामा धेरै देशभक्त वीर सपूतहरूले ज्यान गुमाएका छन्।

वि.सं. १८०० मा प्रारम्भ भएको नेपाल एकीकरणको प्रथम कालखण्डदेखि झण्डै छ दशकको कठिन यात्रामा सयौं वीर सपूतहरूले राष्ट्रका खातिर जीवन बलिदान गरेका छन्।

सिङ्गो राष्ट्रनिर्माण गर्ने दरो भिजन, सड्कल्प र उद्देश्यसहित अगाडि बढेको नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहको नेतृत्वमा वि.सं. १८१४ को कीर्तिपुर लडाइँमा अदम्य साहस र वीरताका प्रतीक काजी कालु पाण्डेजस्ता सपूतले ४४ वर्षको उमेरमै वीरगति प्राप्त गरेका थिए।

आज सहिदको सम्झना गर्दा उनी पनि उच्च कोटिका सहिदमा पर्छन्। गोर्खाली सेनासहित बल्खुको किनारमा कालु पाण्डेले काटिएर ज्यान गुमाउनु पर्‍यो भने उनीसँगै कयौं देशभक्त योद्धाहरूले ज्यान गुमाएका थिए।

त्यसैले राष्ट्रनिर्माणका क्रममा वीर पुर्खाहरूका वलिदानीपूर्ण भावनाको माध्यमद्वारा नेपाली समाजलाई समयको प्रवाह र जनताको चाहनाअनुरूप अगाडि बढ्नको निमित्त राष्ट्रका यी महान वीर सपूतहरूले पुर्‍याएको योगदानलाई पनि यतिखेर बिर्सन सकिन्न।

नेपाली जनता र राजाबीच सन्तुलित भएर रहेको नेपालको राज्यशक्तिलाई विक्रम संवत् १९०३ सालको कोतपर्वबाट जहाँनियाँ शासनमा प्रवेश गराएर जङ्गबहादुर कुँवरले देशमा एकतन्त्रीय शासन चलाए। यही बिन्दुबाट नै नेपाली जनताले जहानियाँ शासनको विरोधमा प्रजातान्त्रिक आन्दोलन प्रारम्भ गरेका हुन्।

नेपालको इतिहासमा आजसम्म जे जति पनि लोकतान्त्रिक आन्दोलन, जनसंघर्ष र जनक्रान्तिहरू भए ती सबैको जग नेपालका अमर सहिद लखन थापाले वि.सं. १९२७ सालमा प्रारम्भ गरेको नेतृत्वदायी जनविद्रोह नै हो।

जङ्गबहादुरले नेपाल बिगारो, दुनियाँलाई त्राहि त्राहि पारिरहेछ, जातपात छुवाछुत झन चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ, नेपालमा सत्ययुग फिराऊँ लौ भाइ हो तयार होऔं भन्दै राणाशासनका विरुद्ध सङ्गठित रूपमा गोर्खामा पहिलोपटक विद्रोहको झण्डा उठाउने क्रान्तिकारी योद्धा लखन थापा नै हुन्।

उनले जनविद्रोहलाई माध्यम बनाएर गोर्खाका गाउँ गाउँबाट जङ्गबहादुरको  शासनलाई खुला चुनौती दिएका थिए। नेपाली माटो धेरै अमर सहिदहरूका रगत पसिनाले भिजेको छ र त्यसैले वन्दनीय पनि छ।

देशको प्रजातान्त्रिक जनसंघर्षको निमित्त जहानियाँ शासनको नेतृत्वमा जन्मेको कोतपर्वप्रति विरोध र विद्रोह गरिरहने क्रममा एक उत्साहित युवक लखन थापामगरले केही युवकहरूलाई साथमा लिई सामुहिक रूपमा खुलेआम राणा शासनको विरोध गर्दै गोर्खाका गाउँ गाउँमा घुमेका थिए।

यो कुरा जङ्गबहादुरलाई कदापि स्वीकार हुन सकेन । फलस्वरूप राणा शासककै आदेशानुसार लखन थापासहित उनका सहकर्मीहरूलाई पक्राउ गरियो। यसरी पक्राउ परेका लखन थापालगायत सातजनालाई उनकै आदेश अनुसार गोर्खाको मनकामनामा वि.सं. १९३३ साल फागुनमा झुण्ड्याएर प्राणदण्ड दिइयो भने अरूलाई सोधपुछ गरी छोडियो।

त्यसैले पनि जहानियाँ निरङ्कुश शासनको विरोधमा लड्ने वीर सपूत लखन थापा इतिहासकै प्रथम सहिद हुन् । सरकारी स्तरबाट केही वर्ष अघिमात्र लखन थापालाई नेपालका प्रथम सहिद भनेर औपचारिक रूपमा घोषणा गरिएको हो ।

देश र जनताको स्वाभिमान तथा प्रजातन्त्रका खातिर अहिले पनि प्रेरणाका स्रोत मानिने सपूत लखन थापा र उनका कर्मठ सहयोगीहरू मारिएको पनि आज १४७ वर्ष भइसकेको छ। यस बीच राज्यशक्तिमा धेरै परिवर्तनहरू भए।

राणाशासन, प्रजातन्त्र, पञ्चायत, पुनः संसदीय प्रजातन्त्र हुँदै २०६२–०६३ को जनआन्दोलनद्वारा मुलुक विधिवत लोकतान्त्रिक संघीय गणतन्त्र कार्यान्वयनको पक्षमा क्रियाशील रहेको छ। मुलुक यहाँसम्म आइपुग्दा पनि अदम्य साहस र वीरताका प्रतीक हाम्रा आर्दश सहिदहरूले देखाएको मार्ग त्याग, संघर्ष र बलिदानको अलिकति पनि सम्मान हुनसकेको छैन।

आज देशमा सहिद भन्ने शब्द उद्योगको रूपमा दिनप्रतिदिन मौलाउँदै गएको छ जसबाट वास्तविक योगदान गर्ने सहिदहरूको घोर अपमान भएको छ। आज सहिदको मूल्य, मान्यता, बलिदान र आदर्शलाई दश लाख रुपियाँमा रूपान्तरित गरिएको छ । यहाँ जो मरे पनि र जो मारिए पनि नेपाल सरकारले दशलाख दिएपछि अमर सहिदको कोटिमा परिन्छ भन्ने आलोकाँचो चिन्तनअन्तर्गत मारिने व्यक्तिका आफन्तजनहरूले पनि दशलाख प्राप्त भएकोमा एउटा उत्सव नै हो कि भन्ने तीतो अनुभूति समाजमा भइरहन्छ।

देशमा आज कस्तो संस्कृति परम्पराको विकास प्रारम्भ भयो र यसलाई दुःखद् नै मान्नु पर्छ । यस क्रममा संवत् १९९७ सालको काण्डमा, मारिएका सहिदको नाम मात्र लिँदा पनि एकातिर आङ सिरिङ्ग हुन्छ भने अर्कोतर्फ गौरवशाली उत्साह प्राप्त भइरहन्छ, तर देश र जनताको निमित्त प्राणको आहुति दिने तिनै वीर सपूतहरूले देखाएको बाटोमा नेपाली जनताले आत्मगौरवका साथ सुख र सन्तोषको अनुभूति समेत गर्न नपाउनु सहिदले गरेको योगदानप्रतिको घोर अपमान हो।

सहिदका बारेमा यथेष्ट र स्पष्ट परिभाषा, अवधारणा र मजबुत दृष्टिकोण आउन नसकेको वर्तमान अवस्थामा जसले जसरी परिभाषित गरे पनि अमर सहिद र सहिद परिवारका सदस्यहरूको सम्मान राष्ट्रले गर्न नसक्नु अर्को विडम्बना हो। त्यसैले यस कालखण्डमा कहिले हुने सही सहिदको सम्मान र पहिचान ?

जङ्गली संस्कृति चरित्रलाई आत्मसात गरेर आएको नेकपा माओवादी नेतृत्वको वर्तमान गठबन्धन सरकारको कामकाज भनेकै निर्दोष नागरिकहरूलाई गोली हानेर मार्ने अनि राष्ट्रको सम्पत्ति चरम रूपमा ब्रम्हलुट गर्ने नाउँमा मारिएका परिवारलाई रु. दशलाख दिएर सहिद घोषणा गर्ने आपराधिक जस्तो कुकृत्य यो सरकारले निरन्तर गरिरहेको छ।

गत महिमा ललितपुरको बालकुमारी र सर्लाहीको वरहथवामा भएका दुईवटा गोलीकाण्ड यसकै उदाहरण हुन्, तर नेकपा माओवादीका पूर्वलडाकु घाइतेहरूले भने जस्तै न देश बन्यो न हामी कति मर्मस्पर्शी छ यो तर्क, हाम्रा कमान्डरहरू अहिले ठूलो पदमा पुगेको देख्दा मन रुन्छ, उनीहरूले गुनासो गरे, हाम्रो आँसु कस्ले  देख्छ र ? नेता र कमान्डरले सबै बिर्से, हाम्रो दुख बढ्दै छ।

युद्धले आधा शरीर लग्यो, बचेको शरीर झनै धेरै बोझ भएको छ । त्यत्रो त्याग र बलिदानको कुनै सम्मान र अर्थ भएन। भिडन्तमा गोली लाग्दा प्रायःजसो सबैले आँखा नै गुमाउनु पर्‍यो।

सबैका श्रीमान् पनि लडाकु थिए । शान्ति प्रक्रियापछि उनीहरू घरफर्के, जीवन निर्वाह गर्न कठिन भएको पीडा पोख्दै उनीहरू रुदै भन्छन्। अहिले हाम्रा श्रीमान्हरूले साउदी अरबमा श्रम पसिना बगाएका छन्, जुन श्रम आफ्नै देशमा बगाउनु पथ्र्यो।

अहिले सत्तामा पुगेका माओवादी नेता कमान्डरहरूसँग कति पैसा सम्पत्ति छ त्यसको कुनै सीमा छैन, तर पूर्व लडाकुहरूको दिनचर्या भने दर्दनात्मक छ।

त्यसैले पूर्वलडाकुले भनेजस्तै पहिलो कुरा देश रहेछ, त्यसपछि मात्र तपसिलका कुराहरू पर्छन्। यत्रो जनसंघर्ष गरेर आएको सरकारबाट पनि देशको विकास गर्न नसक्नु र देश नबन्नुमा उनीहरूलाई कत्रो पीडाबोध र चिन्ता रहेछ । सायद देश नबन्नुको पछाडिको अनुभूति त्यही युद्ध संघर्षको मैदानबाट आएकाहरूलाई पनि यतिखेर चरम नरमाइलो आभास भएको  हुनुपर्दछ ।

सहिद दिवसका अवसरमा प्रत्येक वर्ष सम्मान गर्नुपर्ने कोटिका वीर सपूतहरूको श्रृङ्खलामा राखेर नेपाल सरकारले औपचारिक रूपमा सहिद घोषणा गरी सार्वजनिक बिदासहित राष्ट्रिय सम्मान गर्नु सबैको साझा दायित्वभित्र पर्छ।

वस्तुतः यो सरकारले झिनामसिना उत्सवहरूमा पनि सार्वजनिक बिदा दिएको छ, तर विगत लामो समयदेखि निरन्तर रूपमा दिँदै आएको माघ १६ गतेको बिदा कटौती गरेर समस्त सहिदहरूप्रति घोर अपमान गरेको छ।

राष्ट्रका सहिद भनेको त्यो सपूत हो जसले देश हितको खातिर वा सही आस्था र विश्वासको निमित्त संघर्ष गर्दा सत्ताद्वारा कुनै प्रकारले मारिएको व्यक्ति हुनुपर्दछ। के डाँका र हत्याराहरूद्वारा मारिएका कुनै पनि नागरिक सहिद हुन सक्छन् ? कुनै कारणबाट सरकार, प्रतिपक्ष र अन्य भिडन्तमा मारिएका जति सबैलाई सहिद भन्ने हो भने वास्तविक सहिदको परिभाषा के ? आदिका बारेमा पनि प्रश्न उठ्ने गरेको छ।

सहिदको परिभाषा सबैका लागि सर्वप्रिय र सर्वमान्य रूपमा निरूपण गरिएको हुनुपर्दछ, जो कोही पनि आस्थाको आधारमा सहिद भएको हो वा आकस्मिक रूपले मारिएकोमा सहिद भनिएको हो वा घोषणा गरिएको हो, यसलाई सत्यतथ्यको आधारमा सार्वजनिक गर्नु समाज र राष्ट्रको लागि उत्तम सन्देश हो। त्यसैले बलिदानीपूर्ण इतिहासका अध्येयता हाम्रा वीर सपूत सहिदहरूलाई यही गौरवमय श्रृङ्खलामा राखेर हेरिनु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्