खुलामञ्च जोगाऔँ



काठमाडौं ।

खुलामञ्चमा विसं २०३६ सालमा जननेता बिपी कोइरालाले जनमत संग्रह हुने बेला बहुदलको पक्षमा उभिएर जनतालाई सम्बोधन गरेको इतिहास छ । खुलामञ्च काठमाडौं महानगरपालिकाको स्वामित्वमा आएपछि पटकपटक दोहन गर्ने काम भइरहेको छ।

कहिले बसपार्क बनाएर होस् वा सटर भाडामा दिएर किन नहोस् फरक–फरक समयमा अनावश्यक प्रयोग भइरहेको छ। गतवर्ष भूमिगत पार्किङ क्षेत्र बनाउने तयारी गरेको कामपाले सोही वर्ष कार्यपालिकाको बैठकमा बजेट व्यवस्थापन गरेको थियो।

खुलास्थानको अभावमा राजधानीवासी तड्पिरहेको अवस्थामा महानगरले फेरि अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान बनाउने योजना अघि बढाएको हो।

मुलुकको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा लिएको स्थानीय तहले बेला–बेलामा राजधानीको सुन्दर क्षेत्र हडप्न खोजेपछि सर्वत्र विरोध भएको छ।

विसं २०४६ र २०६२/०६३ सालको जनआन्दोलनको विजय सभा भएको टुँडिखेलको इतिहास जीवित राख्ने दायित्व बोकेको महागरले फुटबल मैदान बनाउन खोजेपछि त्यसको विरोधमा जनता उत्रिएका छन्।

महानगरले सो क्षेत्रलाई खुला राख्नुपर्छ भन्ने बिर्सिन थालेको छ। २०७२ सालको शक्तिशाली भूकम्पमा हजारौं जनतालाई आश्रय दिएको यो खुलामञ्च महानगरमात्रको होइन।

देशको हो सबै जनतामा यसलाई जोगाउनुपर्छ भन्ने भावना हुनुपर्छ । त्यसैले पछिल्लो समय खुलामञ्च जोगाउन सबै लाग्नसमेत थालेका छन्।

विसं २०७१ सालमा रत्नपार्कमा भ्युटावर बनाउन ठेक्का दिएपछि टुँडिखेल हडप्न शुरू भएको हो। त्यसबेला कामपाले नै भ्युटावरको ठेक्का दिएको स्वच्छन्द निर्माण सेवाले बसपार्क र सटरसहितको व्यापार गर्न खुला गरेको थियो।

त्यसबेला अक्युपाई टुँडिखेललगायत संस्थाले निरन्तर दबाब दियो। परिणामस्वरूप २०७७ सालमा खुलामञ्चबाट बसपार्क हटाउन शुरू भयो। लगत्तै सटरमा जोडर चलाइयो। अहिले फेरि फुटबल मैदान बनाउने नाममा महानगरले खुलामञ्चलाई बिगार्न खोजेको छ।

पाँच करोड रुपियाँको लागतमा फुटबल मैदान बनाउन खरिद प्रक्रिया नै अघि बढाइसकेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।

ठेक्का प्रक्रियामा जाँदा लामो समय लागेर आर्थिक चलखेल गर्न नपाइने भएपछि कामपाले आफू निकटका ठकेदारलाई कोटेसनमार्फत् टुक्रे योजना दिन प्रपञ्च शुरू भइसकेको छ। राजधानीको बीच भागमा रहेको खुलामञ्चमा महानगरले मनपरी गर्न थालेसँगै अभियन्ताहरूले विरोध जनाउन शुरू गरेका छन्।

स्थानीयवासी र संरक्षण अभियन्ताहरूले खुलामञ्चलाई प्राकृतिक चौरकै रूपमा छाड्न माग गर्दै सर्वसाधारणको पहुँच नखुम्च्याउन आग्रह गरेका छन्।

कामपाले चालु आर्थिक वर्षको बजेटमा खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुदस्थल सुधार शीर्षकमा १ करोड रुपियाँ विनियोजन गरेको छ।

टुँडिखेलको एक भाग खुलामञ्चमा नेपालीले आफ्नो विचार राख्ने, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने ठाउँ मानिन्छ। विचार निर्माण गराउने सार्वजनिक थलो मासेर खेलमैदान बनाउन हुँदैन।

खुलामञ्च खुला राखेर संरक्षण गर्नु सबैको दायित्व हुनेछ। त्यसको लागि सरोकारवाला एकजुट हुनुपर्छ। कामपाले गर्न लागेको यो कामको सरकारले हस्तक्षेप गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्