जाँदाजाँदै माया रे रत्नबाट रुवाए भृगुरामले



माया रे रत्न जि नं छंके माया।
अर्थात् म पनि तिमीसँग मायामा।

जनगायक भृगुराम श्रेष्ठको जादुमय स्वरले सुसज्जित यो गीत प्रेम प्रसंगको गीत हो, तर तिनै गायकको अन्तिम बिदाइमा प्रेम भाव व्यक्त गर्ने यो प्रेमिल गीतले सबैलाई रुवाइदियो।

नेपाल भाषाका प्रख्यात गायक श्रेष्ठको आइतबार साँझ निधन भएपछि सोमबार अन्तिम बिदाइका क्रमा पशुपतिस्थित आर्यघाट यस्तै दृष्य देखियो।

क्यान्सर रोगको उपचारको क्रममा वीर अस्पतालमा अन्तिम श्वास फेरेका श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहँदा पृष्ठभूमिमा उनको सोही गीत गुञ्जिरहेको थियो।

गीतले जति जति गति लिँदै गयो, उति उति त्यहाँ भेला भएकाको भावुकता सघन बन्दै गयो। २००९ सालमा रेडियो नेपाल गाएदेखि सदावहार बनेको यो गीत यति लोकप्रिय थियो कि नेपालभाषा अलि अलि बुझ्नेले समेत सायदै नसुनेका होलान्।

त्यस्तो कुनै सांस्कृतिक कार्यक्रम छैन होला, जसमा यो गीत नगुञ्जिएको होस्। उनको निधनमा त्यही गीतले सबैलाई स्तब्ध तुल्यायो। १९९० साल कात्तिक महिनामा राजधानीको ठमेल असन नजिक त्यौडमा जन्मिएका श्रेष्ठले सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थालेका थिए।

उनले बाल्यकालदेखि खास गरी नेपाल भाषाको गीत र भजन गाउन थालेका थिए। त्यसपछि हिन्दी गीत पनि गाए। जनकवि दुर्गालाल श्रेष्ठका अनुसार २००४ सालदेखि भृगुरामले गाउने र गाईजात्राको अवसरमा दबू प्याखँमा अभिनय गर्ने गर्दथे।

‘त्यतिबेला टोल टोलमा सांस्कृतिक कार्यक्रम हुने गर्थे, त्यहाँ पनि उहाँले धेरै गीत गाउनुभयो। त्यसपछि रेडियो नेपालमा गाउनुभयो। माया रे रतन गीत लोकगीत भनिन्थ्यो। यसको रचनाकार र संगीतकार को हो कसैलाई थाहा छैन। टप्प टिप्यो, गायो, सकियो। यस्ता धेरै गुमनाम लोकगीत भृगुरामले रेडियो नेपालमा गाउनुभएको थियो। रेडियो नेपालमा जीवन दबू (जीवनका मञ्च) नामक नेपाल भाषाको कार्यक्रममा श्रेष्ठले हार्मोनियम बजाउनुहुन्थ्यो। अर्का एकजना साथी तबला बजाउँथे। अनि भृगुरामले लाइभ नै गाउनुहुन्थ्यो। त्यो बेला गीत रेकर्ड गर्ने व्यवस्था थिएन’ जनकवि दुर्गालालले भने।

जनकवि श्रेष्ठले रचना गरेको लगभग एक हजारभन्दा बढी गीतका गायक श्रेष्ठ थिए। ‘जनकवि श्रेष्ठका अनुसार २००२ सालतिर इन्द्रजात्रा र गाईजात्रा ताका काठमाडौंका टोल टोलमा दबू प्याखं (खुल्ला डबलीमा देखाइने नाटक) प्रदर्शन गर्ने चलन थियो। त्यस्ता नाटक अत्यन्तै लोकप्रिय हुन्थे।

गायक श्रेष्ठलाई गायन मात्र होइन, अभियनमा पनि खुबै रुचि थियो। त्यसैले, त्यस्ता दबू प्याखंमा पनि श्रेष्ठले अभिनय गरेको थिए। २०१३ सालतिर श्रेष्ठ प्रहरीमा तालिम लिएर सेनमा जागिर खाएका थिए।

कवाज खेल्ने, दौडिने, बन्दुक पड्काउने काम तालिममा सिकेका श्रेष्ठले सेनाको जागिरपछि पनि रेडियो नेपालमा साताको एक घन्टा सेनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दथे।
२०२१ सालमा माइतीघर नामक नेपाली भाषाको फिल्म निर्माण भयो। त्यसको एउटा समूह नृत्यमा श्रेष्ठले पनि अभिनय गरेका थिए। उनले त्यसपछि हिजो आज भोलि फिल्म र पानी नामक टेलिफिल्ममा पनि अभिनय गरेका थिए।

२०४३ सालमा नेपाल भाषाको पहिलो फिल्म सिलु र त्यसपछि राजमतिमा पनि उनले अभिनय गरेका थिए। लेखक तथा साहित्यकार शशिकला मानन्धरका अनुसार दबू प्याखं खेल्दा वा गाउँदा पनि यति चाहिन्छ, उति चाहिन्छ भनेर उहाँले कहिल्यै माग्नुभएन।

गीत गाउनु, नाच्नु, अभिनय गर्नु मेरो रहर थियो, रहर पूरा गर्न पाएपछि मलाई पुग्थ्यो भनेर उनले सदैव भन्ने गरेको मानन्धरले बताइन्।

२०२२ सालमा भाषा आन्दोलनका बेला श्रेष्ठको स्वरले सुसज्जित झीगु भाषा मन्त धासा, गय् थ्व नेपाल जुई (हाम्रो भाषा भएन भने नेपाल कसरी बन्छ?) झीगु खः नेपाल संवत् लगायत राष्ट्रप्रेमले भरिएका गीत होस् या द्यः यात सिना स्वां, मय्जुयात गुणकेरा स्वांजस्ता सयौं लोकगीतले भृगुराम श्रेष्ठ कहिले नअस्ताउने तारा भएको ख्यातिप्राप्त अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्