जातीय विभेदविरुद्ध मायाले सजाउँला



काठमाडौं ।

मुलुकका विभिन्न स्थानमा विद्यमान जातीय विभेदविरुद्ध सन्देश भर्दै गायक तथा संगीतकार ओम सुनारले मायाले सजाउँला बोलको गीत हालै राजधानीमा आयोजित कार्यक्रमका बीच भिडियोसहित सार्वजनिक गरेका छन्।

गीत तथा भिडियो चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्षद्वय विदुर गिरी, शान्तिप्रिय, अभिनेता गजित विष्ट, इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियन्ता खगेन्द्र सुनार, इभेन्ट कोरियोग्राफर अश्विनीकान्त झा, गायक ओम सुनार, मोडल एशिला बास्तोला र भिडियो निर्देशक देवेन्द्र कुँवरले सार्वजनिक गरेका हुन्।

पत्रकार जीवन पराजुलीद्वारा सञ्चालित कार्यक्रममा बोल्दै गीतकार एवम् पत्रकार शान्तिप्रियले मानवबीच जातीय विभेद हुनुहुन्न भन्ने सन्देश बोकेको गीत र भिडियो आफैंमा समय सान्दर्भिक रहेको चर्चा गरे।

सामाजिक अभियन्ता खगेन्द्र सुनारले मुलुकमा जातीय विभेद नरोकिएको र उपल्लो भनिएका जातिका चेलीसँग प्रेम तथा विवाह गरेकै कारण ज्यान लिने क्रम जारी रहेको बेला गीतले त्यस्तो अपराध रोक्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

गीतका गायक ओम सुनारले समाजमा गीत–संगीतबाट पनि सकारात्मक सन्देश दिन सकिन्छ भनेर गीत र सन्देश मुलक भिडियो बजारमा ल्याएको बताए।

भिडियोमा जातीय विभेदले समाजमा निम्त्याएका घटनालाई उठाएको जानकारी गराउँदै उनले भने, ‘समृद्ध नेपाल हुनका लागि रोक्ने एउटा समस्या जातीय विभेद पनि भएकाले त्यसलाई अन्त्य गर्नैपर्छ भन्ने नै यसको मुख्य सन्देश हो।’

ओमकै अवधारणमा गीतको भिडियो तयार भएको हो। भिडियोका निर्देशक देवेन्द्र कुँवरले शुरुमा गीत सुन्दा प्रेमिल लागे पनि यसको अन्तरकथा गम्भीर रहेको बताए।

गीतको भिडियो ओम सुनारले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन्। गीतलाई मुना शाहले लेखेकी हुन भने यसमा संगीत र संगीत संयोजन पनि ओमकै रहेको छ।

गीतको भिडियोको मुख्य भूमिकामा पनि ओम आफैं छन् भने उनीसँगै भिडियोमा एलिसा बास्तोला, विजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे प्रणव, दीपक पराजुली, आराधना पराजुली, ढक बहादुर विक, लालबहादुर सुनार, रमा थापालगायतले अभिनय गरेका छन्।

म्युजिक भिडियोलाई विमल ढकालले छायांकन र विनोद बमले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्