प्रेस काउन्सिलले सुरु गर्‍यो युट्युबलाई कक्षा, ५० युट्युब सञ्चालक सहभागी

व्यवस्थित भए पत्रकारितामा अगुवाइ गर्न सक्छ : अध्यक्ष बस्नेत



काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण कक्षा सुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा युट्युब सञ्चालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री सम्प्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए ।

उनीहरूले डिजिटल माध्यममार्फत सूचना सम्प्रेषण कार्यमा सहयोग नभएको गुनासो गरेका थिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने सञ्चारका सबै क्षेत्रबाट साथ सहयोग हुने बताउँदै काउन्सिलले युट्युबरका समस्यामा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउनुभयो ।
अध्यक्ष बस्नेतले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने व्यवस्थित हुन र पत्रकार आचारसंहिता पालना गर्न अनिवार्य भएको बताउनुभएको छ ।

अहिले नेपालको पत्रकारितालाई अगुवाइ गर्न युट्युबमार्फत गरिने मर्यादित पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । बिहीबार काउन्सिलको आयोजनामा सञ्चारग्राममा भएको युट्युब व्यवस्थापनका सन्दर्भमा आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले नेपालको पत्रकारितामा युट्युबको प्रत्यक्ष प्रभाव बढ्दै गएकाले पत्रकारिता गर्ने हो भने युट्युबको सञ्चालन व्यवस्थित गर्न जरूरी भएको बताउनुभयो । ‘तपाईंहरू युट्युबबाट नै पत्रकारिता गर्छु भन्ने सोच्नुभएको छ भने त पत्रकारिताका मूल्य मान्यताअनुसार चल्नुस् र पत्रकारिता कर्म गर्नुस् । कसैले तपाईंमाथि प्रश्न उठाउँछ भने हामी साथमा छौँ’ उहाँले भन्नुभयो । प्रेस काउन्सिल सबै पत्रकारको अभिभावक संस्था भएकाले युट्युबमार्फत पत्रकारिता गर्नेको पनि अभिभावक भएको प्रस्ट पार्दै उहाँले युट्युबका समस्या समाधान गर्ने विषयमा काउन्सिलले सधैँ गम्भीरतापूर्वक भूमिका निर्वाह गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताउनुभयो । उहाँले सम्पादन बिनाको सामग्री सञ्चार सामग्री नहुने भन्दै युट्युबरलाई सिकाएर प्रोत्साहन गर्न आवश्यक रहेकोे बताउनुभयो । युट्युबर सञ्चार क्षेत्रकै सदस्य भएको भन्दै उहाँले नियमसङ्गत व्यवस्थित सञ्चालन भइ पूर्ण सदस्य बन्न सञ्चालकहरूलाई आग्रह गर्नुभयो ।

काउन्सिलले करिब ५० वटा युट्युब माध्यमका सञ्चालकरप्रतिनिधिहरूलाई तालिमसहितको अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘युट्युब र आचारसंहिता प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘आचारसंहिताअन्तर्गतका निर्देशिकाहरू’, सह प्रशासकीय अधिकृत रामशरण बोहराले ‘युट्युब सामग्रीको प्रवृत्ति र व्यवस्थापनमा काउन्सिलको पहलकदमी’ तथा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले ‘युट्युबको अवस्था र आगामी पहलकदमी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्