राज्यस्रोतको दोहनमा दलहरूको एकता अन्त्य होस्



काठमाडौं ।

वैचारिक र सैद्धान्तिक रूपमा आफ्नो दल अन्य दलको तुलनामा फरक रहेको दाबी गर्ने राजनीतिक दलहरूमा राज्यको स्रोतको दोहन र भागबण्डामा एकमत हुने गरेको पाइन्छ।

देश र जनताको बृहत्तर हितमा अनेक रूपमा विभक्त हुने राजनीतिक दल र तिनका नेताहरूको आआफ्नो सत्ता स्वार्थका लागि एक हुने विषय कुरो राजनीतिमा अपवादको विषय नभई नियमित र स्वाभाविक विषय बन्दै गएको छ।

कालेकाले मिलेर खाउँ भाले भनेझैं लाभको बाँडीचुँडी खाने, सत्तामा आआफ्नो हिस्सेदारी खोज्ने, मिलेर पालैपालो राज्यको स्रोत र साधनको दोहन गर्ने र निकटका लागि त्यसको हिस्सेदारी बनाउने (आसेपासे पुँजीवादले) गर्दा अहिले नेपाल आक्रान्त रहेको छ।

दलीय पृष्ठभूमि, वैचारिक रूपमा फरक फरक भए पनि भागबण्डाको विषयमा देखिने वा देखापरेको ‘राष्ट्रिय सहमति’ले दलहरूको सैद्धान्तिक फरक विषय केबल देखाउने दा“तको रूपमा मात्र रहेको छ ।यही प्रवृतिको जरोमा राजनीतिमा अनेक विकृतिविसंगति झागिँदै गएको छ।

यसले गर्दा आमजनतामा गहिरो निराशा छाएको छ। यस्तो निराशा र अन्योल नहटेसम्म राजनीतिक दल र तिनका नेताहरूप्रतिको सर्वसाधारण जनताको अविश्वास अन्त्य हुने छैन।

राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै केही सिटका लागि सत्तागठबन्धन र प्रमुख प्रतिपक्षीबीच तालमेल गर्ने कुरोले केही दिन राजनीतिक सरगर्मी बढाएको छ।

राष्ट्रिय सभामा केही सिट पाएमा सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी कानुन निर्माणमा प्रतिपक्षी दल उदार हुने संकेत दिएको भन्ने खबरले त्यही भागबन्डाको संस्कृतिलाई प्रश्रय दिएको देखिन्छ।

राजनीतिक दलहरूले विधेयकको आवश्यकता, महत्व, उद्देश्यबाट निर्देशित भएरभन्दा पनि लाभको हिस्सेदारीको आधारमा राजनीतिक धारणा बनाउने, अडान राख्ने गर्दै आएको छ।

यसले गर्दा सर्वसाधारण जनताको दैनिक जीवनस“ग सरोकार विषयको कानुन पनि प्रायः विवादित बन्ने गरेको मात्र त्यसलाई फिर्ता लिनुपर्ने स्थिति सिर्जना हुँदै आएको छ।

यसले राजनीतिक दलहरू राज्यसञ्चालनमा गम्भीर छैनन्, गम्भीर केवल पद पाउन र लाभ खोज्नमा छन् भन्ने सन्देश प्रवाह भइरहेको छ।

यस्ता सन्देशको व्यापक प्रवाहले गर्दा विविध क्षेत्रका बुद्धिजीवी, पेशाकर्मी, चिन्तकलगायत सचेत वर्गले मुलुक क्रमशः सामाजिक न्याय, समृद्धि र समानताको दिशातर्फ अघि बढिरहेका छन् भनेर ढुक्कले भन्न सकिरहेका छैनन्।

बुद्धिजीवी तप्का, सचेत वर्ग निराश हुनु भनेको मुलुकको लागि शुभसंकेत अवश्य होइन। आज राजनीतिकहरूमा देखिएका तमाम बेथिति, विकृतिको मुख्य जडका कारण भनेको आआफ्नो स्वार्थ सिद्धका लागि गरिने निहित स्वार्थको राजनीतिक रहेको छ।

यसकै कारण मुलुकमा व्यापक भ्रष्टाचार बढ्दै गएको विभिन्न प्रतिवेदन र सर्वेक्षणले देखाएको छ। यही स्थिति लोकतन्त्रको विकासको लागि सदैव चुनौतीपूर्ण रहेको कुरालाई मनन गर्न जति ढिलाइ गर्ने छ, उति गुणा मुलुक अधोगतितर्फ उन्मुख हुनेछ।

अहिलेको निर्वाचन प्रणालीका कारण संसदीय मोर्चामा कसैको स्पष्ट बहुमत नआउने हुँदा राजनीतिक दलहरू मिलेर सरकार सञ्चालन गर्नुपर्ने बाध्यता र्सिजना हुने गर्दछ।

राजनीतिक दलहरू मिल्नुको आधार कुनै विचार वा सिद्धान्तभन्दा पनि सत्तामात्र सबथोक भन्ने भाष्यले सबै राजनीतिक दलहरू आखिर एकै ड्याङ हुन् भन्ने निष्कर्ष निस्किने छ।

यही निष्कर्षले गर्दा आजको समयमा सिद्धान्त, विचार, नीति तथा कार्यक्रम सबै स्वार्थले दबिएका छन्। ती सार्वजनिक खपतको मात्र विषय बन्दै गएको छ।

यसको अन्त्यका लागि सबैतिरबाट खबदारी गर्दै राजनीतिक दलहरूले आफ्नो भूमिकाप्रति समीक्षा गर्न सकेनन् भने अहिलेको व्यवस्थाप्रति दलहरूले गरेको धोखा र बेइमानी सावित हुने छ।

प्रतिक्रिया दिनुहोस्