देश र समाजले चिन्दैन मूर्तिकार क्रोधकला शिरोमणि कुमालेलाई



काठमाडौँ।

ललितपुरको सातदोबाटोबाट हातिवनतर्फ अघि बढ्दा पहिलो पुलको छेवैमा दक्षिण तर्फ मोडिएको बाटोसँगै जोडिएको सुन्दर घरको सिल्भरकलरको गेट भित्र प्रवेश गर्दा कल्पनै नगरेको मूर्तिकलाले सजिएको घर र कारखाना भेटिन्छ । त्यहाँ वरिष्ठ मूर्तिकार एवं क्रोध कला शिरोमणि कालु कुमाल उमेरले ९१ वर्ष भएपनि मूर्तिकलामा भर्खरको जवान झैँ भेटिन्छन्।

कारखानाको कम्पाउन्डबाट भित्र पस्ने बित्तिकै सुन्दर कलाले सजिएको घर, कोठा, मूर्तिले सजिएको कल्पनै गर्न नसकिने दृश्य देख्दा जो कोही लोभिन्छन् । राष्ट्र र समाजका काम गर्दै कालु कुमाललेको जीवन कलामा डुबेको पाइन्छ ।  तर देश र समाजले चिन्न सकेको छैन । मूर्तिकलाको माध्यमबाट चीन, बेलायत, भारत लगायत १३ वटा मुलुकमा नेपाललाई मूर्तिकलाका माध्यमबाट चिनाउने वरिष्ठ मूर्तिकारलाई अहिले पनि उमेरले काम गर्न रोकेको छैन ।

बिहान ३ बजे उठेर नित्यकर्म, ध्यान व्यायाम गरी, प्रत्येक दिन ८ बजेभित्र चिया नास्ता सकेर घरसँगै रहेको मूर्तिकला कारखानामा पुगी आफूले गर्ने गरेका विगतका कामलाई निरन्तरता दिने र ११ बजे खाना खाई एक घण्टा आराम गरेपछि पुनः कारखानामा मूर्ति कुद्न शुरु गर्ने र ३ बजे खाजा खाने पुनः मूर्ति कुद्ने कामलाई नै निरन्तरता दिने र साँझ ५ बजे घर फर्की आराम गर्ने र खाना खाएर ८ बजे भित्र सुत्ने उनको दैनिकी छ ।

साधारण लेखपढ गरेका कालु कुमालका ६ जना छोरा र २ छोरी छन् । उनी साधा जीवन उच्च बिचारका धनी व्यक्तित्व हुन । देशले चिन्न नसकेका व्यक्तित्वलाई उनकै सन्तानहरूले भरपुर साथ दिएर आज विश्व सामु चिनाएका छन् । बाउ, बाजेको पाला देखिनै मूर्तिकलालाई पेसागत रुपमा अँगाल्दै आएको कालुको परिवारमा कालु पनि उनकै “बुबा सानु कुमालेबाट प्रेरित भएर मूर्तिकलामा लागेको बताउँछन्।  सानु कुमालेले वर्षैपिच्छे एक महिना माटाका भाँडाकुँडा बनाइ मच्छिन्द्रनाथ, मीमनाथ, आदिनाथ (चोभार) र बसुन्धरामा चढाउने गर्दथे। शिल्पीको रूपमा गुठी चलाउँदा त्यो आवश्यक हुन्थ्यो । बुबाले गरेका ती गतिविधिहरूलाई सानै उमेरदेखि नियाल्दै आएका कालुलाई एक दिन उनकै बुबाले त्यतिकै बस्नुभन्दा केही गरेर बस भनी माटो दिएपछि हातमा खेलाउँदै जाँदा चराचुरूङ्गीको जस्तो आकार बन्यो त्यो नै मेरो मूर्तिकलाको सुरुवात हो भन्छन्  । उनले सुरुमा जनावर, पक्षी, चेस गोटी, बाजागण बनाउँदै आज आएर धातुका ठूला ठूला मूर्तिहरु बनाएर देश विदेशमा व्यावसायिक रुपमा पठाउँछन्।

कालुका साहिला छोरा राकेश अवालेको साथ र सहयोगकै कारण कालु कुमालेका नेपाली कलाकृति विश्वभर व्यावसायिक रुपमा प्रख्यात भएको अवाले बताउँछन् । अवालेले बुबा बोल्न भन्दा मूर्ति कुद्मै व्यस्त हुनुहुन्छ भन्दै कालुसँगै बसेर दिएको जानकारी अनुसार जतिबेला बुबा कुनामा बसेर मूर्ति बनाउँउनुहुन्थ्यो, अहोरात्र खट्दा पनि परिवार पाल्न धौ धौ थियो । आज उहाँका साथमा हामी छौ केहीको अभाव छैन । घर भरिभराउ छ , विक्रम संवत् २०७३ साल वैशाख २९ गते सगरमाथ प्रतिष्ठानले क्रोध कलाशिरोमणिको उपाधि नेपालका उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट सम्मान गर्‍यो ।

राज्यले यस्ता कलाकारको सम्मानमा खासै चासो नदिए पनि विभिन्न  अन्तर्राष्ट्र, संघसस्था लगायत जताततैबाट सम्मानको चाङ लागेको छ ।  आज बुबालाई कुनै कुराको अभाव छैन । घर भरिभराउ छ, जीवन झन रौसिलो बनेको छ । विगतमा कला कौशलमा अझ पोख्त बनाउँन ल्हासाबाट भागेर आएका लामा एवं व्यक्तिहरूले ल्याएका टुटे फुटेका मूर्ति बनाउने काम संघरत्न शाक्यका हातमा आयो । शाक्यले नै त्यो काम कालुलाई दिएपछि शाक्यले मूर्तिका विभिन्न फोटोहरू दिएर बुबालाई सिकाउँदै जानुभयो र धातुका मूर्ति बनाउन लगाए । यसरी मेरो बुबा कालु एकाएक मूर्तिकार बन्न सफल हुनुभयो अवालेले भने । यति ठुलो साथ र सहयोग पाएकोमा छोराबाट कालु निकै सन्तुष्ट देखिन्छन । अहिले उनले १० जना मूर्तिकारहरू आफ्नै कारखानामा जन्माइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस्