नेपाल–बेलायत मैत्री सन्धिको सय वर्ष पूरा

सन्धिमा हस्ताक्षर भएकै स्थानमा दोहर्‍याइयो मित्रताको प्रतिबद्धता



काठमाडौँ। 

नेपाल र बेलायतले एक सय वर्षपछि बिहीबार पुनः त्यही स्थानमा उभिएर सय वर्ष पुरानो मैत्री सम्बन्धलाई अझै उचाइमा पु¥याउने प्रतिबद्धता दोहर्‍याएका छन् । नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको १००औँ वर्ष पूरा भएको अवसरमा परराष्ट्र मन्त्रालयले सिंहदरबारको बेलायती बैठकमा आयोजना गरेको समारोहमा दुवै पक्षबाट शताब्दी पुरानो मैत्री सम्बन्धलाई अझै उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको हो ।

आजभन्दा ठिक सय वर्षअघि सन् १९२३ डिसेम्बर २१ मा तत्कालीन श्री ३ महाराज चन्द्रशमशेर राणा र बेलायतका राजदूत लेफ्टिनेन्ट कर्णेल विलियम फ्रेडरिक ट्राभर्स ओकनरले सिंहदरबारको यही बेलायती बैठकमा नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिमा  हस्ताक्षर गरेका थिए । जुन सन्धिले  नेपाललाई एक स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित गरेको थियो ।

समारोहमा परराष्ट्रमन्त्री एनपी साउदले अफ्रिका–एसियाका धेरै देशहरू राजनीतिक स्वतन्त्रता र उपनिवेशीकरणविरुद्ध संघर्ष गरिरहेका बेला सानो देश नेपालले त्यति बेलाको महाशक्ति ग्रेट ब्रिटेनसँग सन्धिमा हस्ताक्षर गर्नु गौरवको विषय भएको बताए । उनले नेपाल र संयुक्त अधिराज्यबिच दुई शताब्दीअघि सन् १८१६ मा सुगौली सन्धिमार्फत कूटनीतिक सम्बन्ध स्थापित भएको स्मरण गर्दै यो मैत्री सन्धिले दुई देशबीचको चिरस्थायी मित्रता र विश्वासलाई सुदृढ बनाएको बताए । उनले भने– ‘नेपालले एक सय वर्षअघि गरेको मैत्री सन्धि विगतमा गरिएको बलियो अन्तर्राष्ट्रिय संयन्त्र भएको छ ।’

नेपालले समानताका आधारमा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको रूपमा उक्त सन्धिमा हस्ताक्षर गरेको उल्लेख गर्दै मन्त्री साउदले विगत सय वर्षहरूमा बेलायतसँग नेपालको सम्बन्ध धेरै गुणा बढेको र धेरै क्षेत्रमा विस्तार भएको जिकिर गरे । उनले बितेका वर्षहरूमा राजनीतिक संवाद, आर्थिक साझेदारी, व्यापार र लगानी, पर्यटन, विदेशमा रहेका नेपाली, ब्रिटिश गोर्खा र जनता–जनताबीचको सम्बन्धका अन्य आयामहरू विस्तार भएको उल्लेख गर्दै भने– ‘बेलायत नेपालको लामो समयदेखि विकास साझेदार रहेको छ । बेलायतले अनुदान सहायतामा वर्षौँदेखि नेपाललाई प्रमुख द्विपक्षीय विकास साझेदारहरूको सूचीमा राखेको छ । हाम्रा दुई देशबीच द्विपक्षीय व्यापार, पर्यटन र लगानी बढ्दै गएकोमा हामी खुसी छौँ ।’

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनले दुई देशबीचको मैत्रीसन्धिका कारण नेपाल कहिल्यै पराधीन नभएको बताए । उनले नेपालीमै सम्बोधन गर्दै भने– ‘सय वर्षमा अति कम परिचित नेपाल अहिले राम्रोसँग चिनेको र धेरै मन परेको देशको रुपमा रुपान्तरण भएको छ ।’ उनले विश्वका उदीयमान दुई छिमेकी भारत र चीनबीचमा रहेको नेपालले ती देशले गरेका आर्थिक प्रगतिबाट लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्दै नेपालको भविष्य उज्ज्वल रहेको बताए ।

परराष्ट्र सचिव सेवा लम्सालले बेलायतसँगको शान्ति तथा मैत्री सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको र सन्धिपछि बेलायतले काठमाडौँमा पहिलो राजदूतावास स्थापना गरेको बताइन्  । नेपाल–बेलायतबीचको मैत्रीसन्धि द्विपक्षीय सम्बन्धका लागि महत्त्वपूर्ण भएको बताउँदै उनले बेलायत नेपालको मुख्य विकास साझेदारका रुपमा रहेको उल्लेख गरिन् ।

नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शताब्दी पूरा भएको स्मरणमा यो वर्ष दुवै देशमा विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना भएको जानकारी दिँदै परराष्ट्र सचिव लम्सालले यसअघि मन्त्रालयले काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा पनि कार्यक्रम आयोजना गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्