बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

वर्तमान सरकार सम्पूर्णरुपमा असफल :  उपाध्यक्ष पौडेल 



बुटवल। 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारकै कारण गौतमबुद्ध विमानस्थल चल्न नसकेको बताएका छन् । बिहीबार बुटवलमा शुरू भएको लुम्बिनी एक्स्पो २०८० को उद्घाटन गर्दै नेता पौडेलले बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने टिप्पणी गरे । ‘यो एयरपोर्ट सरकारकै कारण चल्न नसकेको हो’, उनले भने, ‘सरकार, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सचिवले पहल गर्नुपर्ने काम हो । उनीहरूले केही गर्न सकेनन् । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन ।’

वर्तमान सरकार सम्पूर्णरुपमा असफल भएको भन्दै पौडेलले असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए ।उनी भन्छन्  –‘हामीले धेरै मेहनत गरेर बनाइएको विमानस्थल हो । व्यवसायीहरू चिन्ता नलिनुहोस्, हामी विमानस्थल चलाएरै छाड्छौं । आकर्षक विमानस्थलको रुपमा अघि बढाएरै छाड्छौं ।’बुटवल नारायणगढ सडक निर्माणमा पनि लापरबाही भएको पौडेलले बताए । ‘निर्माण कम्पनीले ढिलासुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बस्ने होइन’, पौडेलले भने, ‘गुणस्तरीयरुपमा सञ्चालन गर्न सघाउन सकेको छैन । सडक निर्माणको ढिला सुस्ती ‘टु मच’ भइसक्यो ।’ बुटवल बजार क्षेत्रको सडक सरकारकै कारण बन्न नसकेको पौडेलले आरोप लगाए  । बुटवललाई आकर्षित र विकासशील शहर बनाउन आफू अविछिन्नरुपमा लाग्ने उनले प्रतिबद्धता जनाए । तिनाउ–दावन करिडोरका लागि छुटाइएको बजेट कटौती गरेर निर्माणमा चुनौती खडा गरिएको उनको भनाइ छ ।  अहिले देशको अर्थतन्त्र हेर्दा आङ सिरिङ्ग हुने पौडेलले बताए।

बिहिबारदेखि लागेको एक्स्पो पुसको १८ गतेसम्म चल्ने छ ।  एक्स्पोमा ६ सय स्टल रहेकोे मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको समेत अध्यक्ष तथा मेला संयोजक घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्