‘कानुन नहुँदा उद्योग व्यवसाय प्रवर्द्धन गर्न सकिएन’



काभ्रे। 

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा  प्रशासन मन्त्री रामकृष्ण चित्रकारले मन्त्रालय नै प्रदेश सरकारका लागि नयाँ भएकाले १३ वटै जिल्लामा पुगेर अन्तर्क्रिया तथा छलफल गरेर प्राप्त सुझावका आधारमा नीति बनाउने तयारी गरेको बताएका छन्।

‘प्रदेश सरकारसँग दुईवटा ऐन मात्रै  छन् । भएका कानुन उद्योगी व्यवसायीमैत्री नभएकाले नयाँ कानुन निर्माण, भएकालाई संशोधन गरी नियमावली समेत निर्माण गर्ने तयारीमा छौँ’– मन्त्री चित्रकारले भने–‘प्रदेश भित्र रहेका सबै उद्योगहरुलाई संरक्षण गर्ने, उद्योगमैत्री कानुन अनुसार नवीकरण, दर्ता जरिवाना सम्बन्धी व्यवस्था गर्ने, अनुगमन सहज बनाइने, हस्तकला सम्बन्धी उद्योगलाई अझै बढावा गर्ने काममा सक्रिय भएका छौँ ।’ मुलुक गणतन्त्रमा गए पनि राजनीतिक संक्रमणकालमा अल्झिएकाले समृद्धि र रोजगारमा कृयाशिल हुन उद्योग कलकारखानाको विकास आवश्यक रहेको उनले बताए ।

‘स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका समग्र उद्योग र ब्यवसायीहरुको समस्या तथा समाधानका उपायहरु संकलन गर्ने उदेश्यले सरोकारवालाहरुसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले ऐन र कानुन नहुँदा उद्योगी व्यवसायी मैत्री व्यवहार गर्न नसकिएको बताए।

 कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले उद्योग दर्ता नवीकरणलाई सहज बनाउन सुझाव दिए । ‘दर्ता र नवीकरणलाई सहज बनाउँदै नियमन र अनुगमनलाई कडाइ गरौंं’–समन्वय समिति प्रमुख गौतमले भने–‘उद्योगी ब्यवसायीहरु ढुक्क भएर व्यवसाय गर्ने वातावरण तयार हुन सकेको छैन । राज्यले अभिभावकत्व ग्रहण गरेर पनि ब्यवसायीहरु ढुक्क हुने अवस्था आएको छैन ।’ मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले सरकारले उद्योग व्यवसायलाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक कानुन निर्माण गरिरहेको बताए । ‘जिल्ला जिल्लाबाट प्राप्त सुझावहरुलाई एकीकृत गरी सोही सुझावका आधारमा ऐन, कानुन र नियमावली तयार गरिने छ’–केसीले भने–‘प्रदेश भित्र प्रादेशिक भेला, कोसेली घर, विना धितो ऋण प्रवाह तथा बैक ब्याजका सन्दर्भमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गरिनेछ ।’

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले समृद्धिको यात्रालाई अघि बढाउन उद्योग व्यवसायको प्रवर्द्धन पहिलो आवश्यकता भएको बताइन् । ‘प्रदेश सरकारले समन्वय गर्ने कोसेली घर तत्काल काभ्रेपलाञ्चोक जिल्लामा सुरुवात गर्नु आवश्यक छ’– प्रमुख जिल्ला अधिकारी शर्माले भनिन–‘हामी कहाँ छौ भन्ने थाहा पाए पछि मात्रै कहाँ पुग्ने हो थाहा पाउँछौँ । त्यसैले पछिल्लो अवस्थाका बारेमा सोचनीय बन्नु पर्ने अवस्था आएको छ ।’ प्रमुख जिल्ला अधिकारी शर्माले आयात धेरै हुने र निर्यात कम हुँदा मुलुकको अर्थतन्त्रमा प्रभाव पर्ने भएकाले भएका उद्योगहरुलाई संरक्षण र नयाँ उद्योगहरुको आकर्षण आवश्यक रहेको बताइन् ।

 कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे, केन्द्रीय सदस्य मञ्जुकुमार कोँजु, पनौती अध्यक्ष भोला थापा तथा विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरु, साना तथा घरेलु उद्योग महासंघ महिला समिति अध्यक्ष निरु बैदार, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष माधव श्रेष्ठ तथा विभिन्न क्षेत्रका उद्योगी ब्यवसायीहरुले पछिल्लो समय उद्योग व्यवसायमा भोग्नु परेका समस्याका बारेमा सुझाव दिएका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर वलीले जिल्लाको समग्र तथ्याङ्क प्रस्तुत गर्दै हरेक वर्ष उद्योग दर्ता र नवीकरणमा उत्साह घट्दै गएको बताए । ‘आर्थिक वर्ष २०७७-२०७८ मा उद्योग तर्फ २०५६ वटा उद्योग दर्ता हुँदा २०७८-२०७९ मा १ हजार ५ सय ७६ र २०७९÷२०८० मा ९ सय ८६ मात्रै उद्योग दर्ता भए’–कार्यालय प्रमुख यज्ञबहादुर वलीले भने–‘वाणिज्य तर्फ क्रमशः आर्थिक वर्ष अनुसार ७ सय १५, ६ सय १० र ३ सय ९७ वटा उद्योग दर्ता भएका छन् ।’ चालु वर्षको चार महिनामा ५ सय ६५ वटा उद्योग दर्ता हुँदा ३६ वटा बन्द भए । ५ सय ८७ वटा मात्रै नवीकरण भएका छन् । उद्योग दर्ता र नवीकरणमा उत्साह नहुँदा राजश्व असुली घटेको छ ।

 चालु वर्षको चौमासिकसम्म ८२ लाख ३ हजार ४ सय रुपैयाँ राजश्व संकलन हुँदा आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ७७ लाख राजश्व संकलन भएको छ । घरेलु अधिकृत वलीका अनुसार कानुन नबन्नु, भएका कानुन कार्यान्वयन नहुन, दरबन्दी अनुसारको जनशक्ति नहुनु, ढुंगा, गिटी, बालुवा तथा खानीजन्य उद्योगहरुको नवीकरण नहुनु तर नवीकरण नहुँदा पनि निर्वाध चलिरहनु जस्ता समस्या रहेको बताए । घरेलु तथा साना उद्योग कार्यालयका रवीन्द्र चौलागाईले प्राप्त सुझावहरुलाई बागमती प्रदेश सरकारलाई प्रतिवेदनका रुपमा बुझाउने बताए ।

प्रतिक्रिया दिनुहोस्