समिति बैठकको छैन अत्तोपत्तो

उपकुलपतिको लिगलिगे दौडमा आधा दर्जन आकांक्षी



काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनाअघि बनाउनुभएको त्रिविको उपकुलपति छान्ने समितिको अझै अत्तोपत्तो छैन । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे कुलको ३ सदस्यीय छानबिन समितिले हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।

अस्वस्थताको कारण मन्त्री राई मन्त्री क्वाटरमै बसेर काम गरिरहनुभएको छ भने सचिव अधिकारी तान्जानिया भ्रमणमा हुनुहुन्छ । मन्त्री राईलाई सन्चो नभएको र कुलपतिले चासो नदिएका कारण उपकुलपति छनौट कमिटिको बैठक अनिश्चित प्रायः भएको मन्त्रालय स्रोतको भनाइ छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले त्रिवि उपकुलपति छनौट समिति बने पनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै भन्नुभयो– ‘प्रक्रिया शुरू गर्ने तरखरमा छ, केही दिनमा अघि बढ्ला ।’

त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियोे । कात्तिक १९ गते कुलपतिले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो । त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधान अनुसार प्राडा भुषाललाई जिम्मेवारी दिइएको हो । भुषालले कार्यभार सम्हाल्नुभएको एक महिना पुगिसकेको छ, उपकुलपति कहिले नियुक्ति हुन्छ भन्ने विषयमा कसैलाई जानकारी छैन ।

त्रिविका पूर्व राजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ पौडेल र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनीधि न्यौपाने उपकुलपतिको दौडमा हुनुहुन्छ । उपकुलपतिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समेत चासो देखाएको स्रोतको भनाइ छ ।

यसैबीच उपकुलपतिको लिगलिगे दौडमा एक जनाबाहेक सबै त्रिविकै पूर्व पदाधिकारीहरू लागि परेका छन् । त्रिविका पूर्व राजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ पौडेल र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनीधि न्यौपाने उपकुलपतिको दौडमा हुनुहुन्छ । उपकुलपतिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समेत चासो देखाएको स्रोतको भनाइ छ । उहाँले भित्रभित्रै कुलपतिसमक्ष आफू उपकुलपति हुन आयोगबाट राजीनामा गर्न तयार रहेको बताउने गर्नुुभएको स्रोतको दाबी छ ।
अहिले उपकुलपतिको कार्यभार सम्हालिरहेका प्राडा भुषाल भने दौडमा रहनुभएको छैन । स्रोतका अनुसार उपकुलपति प्राडा भुषाललाई त्रिविबाहेक चैतबाट रिक्त हुने

अन्य विश्वविद्यालयमा उपकुलपति बनाउने तयारी भइरहेको छ । माओवादी र कांग्रेसमध्ये कुन पार्टीको कोटामा उपकुलपति हुने भन्ने विषयमा निर्णय हुन नसक्दा छनौट समितिको बैठकसमेत बस्न नसकेको हो । स्रोतका अनुसार भागबण्डामा उपकुलपति, रेक्टर र रजिस्ट्रारको विषयमा सत्तारुढ दलबीच सहमति भएपछि उपकुलपति छनौट गर्ने तयारी भएको छ । पदाधिकारी बन्न सत्तारुढ दलका प्राध्यापक संघ संगठन शक्ति केन्द्रमा निरन्तर धाइरहेका छन् । त्रिविको रेक्टरको पदावधि चैत ६ र रजिस्ट्रारको पदावधि पुस ९ गतेबाट रिक्त हुँदै छ ।

उपकुलपति माओवादीको भागमा परे कांग्रेसको तर्फबाट प्रा. जगत् तिमल्सिना रजिस्ट्रार हुने दाउमा हुनुहुन्छ । कांग्रेसको भागमा उपकुलपति भए माओवादीबाट त्रिवि अनुगमन निर्देशनालयका निर्देशक विष्णु खनाल रजिस्ट्रार बन्ने तयारी भएको छ । सरकारआबद्ध दलका नेताले भागबण्डाको आधारमा पदाधिकारी बाँडफाँट गर्ने जनाएपछि उपकुलपति छनौट समितिको बैठक बस्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्