राजदरबारमा गोलीकाण्ड

कयौं हताहत, राजारानी र युवराजको अवस्था आधिकारिक रूपमा अपुष्ट



समाचारपत्र विशेष संवाददाता, काठमाडौं ।

श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवलाई शुक्रबार साँझ नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजमा अकस्मात् चलेको गोली लाग्न पुगेको छ । मौसुफको स्थिति शनिबार बिहान ३ बजेसम्म आधिकारिकरूपमा स्पष्ट हुन सकेको छैन । मौसुफलाई उक्त गोली लागेलगत्तै छाउनीस्थित सैनिक अस्पतालमा पु¥याइएको थियो ।

श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहलाई पनि सो क्रममा गोली लागेको छ । त्यसै गरी, श्री ५ युवराजधिराज दीपेन्द्र वीरविक्रम शाहदेवलाई पनि गोली लागेको छ । सो क्रममा श्री ५ नीराजन वीरविक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शान्ति सिंह, कुमार गोरख शमशेर जबरालगायत राजपरिबारका अन्य सदस्यहरुलाई पनि गोली लागेको छ । गोली लागेका सबैलाई छाउनीस्थित सैनिक अस्पतालमा पु¥याइएको छ ।

गोली लागेकामध्ये १५ जनाको मृत्यु भएको समाचारसूत्रहरुले उल्लेख गरे पनि समाचारको आधिकारिक पुष्टि भने हुन सकेको छैन । पारिवारिक भोजमा श्री ५ युवराजधिराजको विवाहको प्रसंग चलेपछि अकस्मात् पौने १० बजेतिर उक्त गोलीकाण्ड भएको समाचार सूत्रहरुको दाबी छ । शुक्रबार राति नै उक्त घटनाको लगत्तै पोखरामा रहिबक्सेका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई हेलिकोप्टरबाट राजधानी ल्याइएको छ ।

उक्त घटनालगत्तै शुक्रबार राति नै मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । त्यस्तै, राजपरिषद् स्थायी समितिको आकस्मिक बैठक पनि बसेको छ । स्थिति स्पष्ट भइनसकेका कारण अति संवेदनशील अवस्थामा थप विवरणहरु किटानीका साथ खुलाउन नमिल्ने उच्च सूत्रहरुले बताएका छन् ।

त्यो दिनको नेपाल समाचारपत्र

यो समाचार नेपालमा नेपाल समाचारपत्रले मात्रै छापेको थियो । दरबारमा गोली चलेपछि नेपाल समाचारपत्रको कार्यालयमा यो समाचारका बारेमा केही बेर छलफल भएको थियो । समाचार दिने कि नदिने भन्ने विषयमा । तर, समाचार दिने मनस्थितिमा सम्पादकीय टिम पुगेको थियो र यो समाचारका लागि नेपाल समाचारपत्रका संस्थापक प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, सम्पादक कपिल काफ्ले, रात्रि डेक्स प्रमुख डा. महेन्द्र विष्ट, राजेश बज्राचार्य, संवाददाताद्वय दीपक रिजाल र किशोर सापकोटाको ठूलो योगदान रहेको थियो । विदेशी सञ्चारमाध्यमको प्रमुख स्रोतका रूपमा नेपाल समाचारपत्रलाई २०५८ जेठ २० गते प्रयोग गरेको पाइन्छ । जसले हिम्मत गरेर दरबारमा भएको उक्त घटनाका बारेमा समाचार छाप्ने हिम्मत गरेको थियो ।

पटक–पटक गरेर तयार पारिएको समाचार बिहान ४ः३० बजे प्रेसमा छाप्न पठाइएको थियो । पत्रिका छापिएर उपत्यका बाहिर जाने पत्रिकाको गाडी बिहान ५ बजे काठमाडौंबाट हिँडेको थियो भने राजधानीको मुटु मानिने न्युरोडको भूगोल पार्कमा नेपाल समाचारपत्र पुग्नासाथ कतिपयले पत्रिका लुटेर लगेका थिए भने कतिपयले गोजीबाट जति पैसा निस्कियो त्यति नै दिएर लगेका थिए ।

वैशाख २० गते नेपाल समाचारपत्रको फोटोकपी १ सय रुपियाँमा बिक्री भएको थियो । दिनभर पत्रिका छाप्दा पनि जनताको माग पूरा गर्न नसकिएको भन्दै कामना न्युज पब्लिकेसन्स्ले माफी नै माग्नुपरेको थियो ।

याे पनि

राजदरबारमा गोलीकाण्ड, कयौं हताहत, राजारानी र युवराजको अवस्था आधिकारिकरुपमा अपुष्ट

 

प्रतिक्रिया दिनुहोस्