कोशी सरकारको बजेट प्रतिस्थापन विधेयकमा सत्तारुढ दलबाटै विरोध



विराटनगर।

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् आएको बजेट प्रतिस्थापन गर्नेगरी ल्याएको बजेटप्रति सत्तारुढ दल कांग्रेसकै सांसदहरूले पनि असन्तुष्टि जनाएका छन् । प्रदेशसभामा मंगलबार विनियोजन विधेयकमाथि जारी छलफलमा भाग लिँदै कांग्रेसकै सांसदहरूले बजेटप्रति विरोध गरेका हुन् । कांग्रेस सांसद खगेनसिंह हाङ्गामले मुख्यमन्त्रीले बजेटमाथि अन्धाधुन्ध डाडुपन्यु चलाएको आरोप लगाउनुभयो ।

यसअघि अध्यादेशबाट आएको बजेट तलमाथि गर्दा मुख्यमन्त्रीले आवश्यकता र प्राथमिकताअनुसार नगरेको उहाँको भनाइ छ । ‘हिजो पाकेको खाना सेलाएको थियो, त्यसमा उहाँले केही तातो खाना बनाएर मोलेर जथाभाबी डाडुपन्यु चलाउनुभयो’ उहाँले भन्नुभयो, ‘त्यसैले स्वाद राम्रो आएन । त्यसकारण असन्तुष्टि हुने नै भयो ।’ मुख्यमन्त्रीको दलकै सांसदको पनि योजना नपर्नुले बजेट नै यस्तै हुँदो रहेछजस्तो लागेको हाङ्गामले बताउनुभयो ।

संखुवासभाको गुफापोखरी र ताप्लेजुङ जोड्न सडक ट्रयाक खोल्न ३ किलोमिटर बाँकी रहेको भए पनि बिचमा कालोपत्रे गर्न ४ करोड ५० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । पहिले बाटो खोलेर कालोपत्रे गर्नुपर्नेमा बिचमा कालोपत्रे गर्नुको अर्थ नहुने उहाँले बताउनुभयो । ताप्लेजुङलाई बजेटमा पछि पारिएको उहाँको गुनासो छ । कांग्रेसका सांसद गोपाल तामाङले यसअघि अध्यादेशबाट आएको बजेटमा आफ्नो क्षेत्रमा आएको बजेटका १३ योजना काटिएको भन्दै उनले त्यसलाई सच्याउन माग गर्नुभयो । शौचालय निर्माणको लागि छिमेकी जिल्लामा ५ करोड बजेट छुट्टिएको भन्दै आपत्ति जनाउनुभयो ।

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भएको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्ने बताउनुभयो । झापामा हात्ती करिडोरको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राम्रो भए पनि १० लाख रुपियाँ मात्र बजेट कम भएको उहाँको भनाइ थियो । केही विमति भए पनि बजेटलाई समर्थन रहेको उहाँको भनाइ थियो । कांग्रेसका सांसद गोविन्द गिरीले सांसदले छानेको एक करोड बराबरको योजना समावेश गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएको भए पनि आफ्नो योजना खल्तीमा मात्र सीमित भएको गुनासो गर्नुभयो ।

कांग्रेस सांसद शोभा चेम्जोङले चालु खर्च कम गरेर पुँजीगत खर्च बढाउनु सकारात्मक भएको बताउनुभयो । कतिपय कार्यक्रमले सरकार गरिब र सर्वहारा वर्गको भएको देखिने भन्दै उहाँले कडा रोग लागेका बिरामीलाई प्रदेश सरकारले गर्दै आएको सहयोग कटौती गर्नु गलत भएको बताउनुभयो । कांग्रेस सांसद प्रदिप सुनुवारले बजेटप्रति सांसदहरूले उठाएको गुनासो जायज भए पनि गोजीबाट निकालेर बजेट वितरण गर्ने प्रणाली अन्त्य हुनुपर्ने बताउनुभयो । आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजनको प्रणाली स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।

एमाले र राप्रपाको पनि विरोध

कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको र मनपरी रूपमा बजेट विनियोजन भएको भन्दै मंगलबार प्रदेशसभा बैठकमा नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् । प्रदेशसभाको बैठकको कारवाही शुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न समय दिएपछि एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले आफ्ना कुरा राख्नुभएको थियो ।

मगरले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै मुख्यमन्त्रीले संसदमा गरेको प्रतिबद्धता र आफूहरूसँग भएको सहमतिविपरीत बजेट आएको बताउनुभयो । ‘सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिनुपर्नेमा त्यसो नगरेको र प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई छानीछानी हटाएको देखियो’ उहाँले भन्नुभयो , ‘सांसदले माग पेस गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्न मूल प्रश्न हो ।’ मुख्यमन्त्रीको रबैयाँको कारण बजेटलाई समर्थन गर्नसक्ने अवस्था नरहेको भन्दै मगरले सरकार नै संकटमा पर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्