‘खाँणले न्याय पाउनेमा आशावादी छु’



बुटवल।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी कानुनी कठघरामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । मंगलबार रूपन्देहीको भैरहवामा नेपाली कांग्रेस रूपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।

भैरहवासमेत पर्ने रूपन्देही क्षेत्रनम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई फसाइएको आरोप कार्यकर्ताले लगाएका थिए । देउवाले अदालतमा विचाराधीन रहेका कारण बोल्ने नहुने भए पनि खाँणले न्याय पाउने जिकिर गर्नुभयो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसञ्चालनका लागि पहल गर्ने समेत उहाँले बताउनुभयो । देउवाले विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्ने बताउनुभयो ।

सहमहामन्त्री किशोरसिंह राठौरले रूपन्देहीमा कांग्रेस बलियो शक्ति भए पनि कार्यकर्ताहरूमा कुरा सुन्नेसम्मको फुर्सद नहुँदा पार्टी निर्माणमा ध्यान नदिँदा कमजोर हुँदै गएको भएको गुनासो गर्नुभयो । केन्द्रीय सदस्य एवं सांसद डा. चन्द्र भण्डारीले कांग्रेसमा अन्तरघात बढिरहेको र यसले पार्टीलाई कमजोर बनाएको बताउनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्मअनुसार अधिकार प्राप्त नहुँदा प्रदेश सरकार ‘पंगु’ बनेको बताउनुभएको छ । मंगलबार नेपाली कांग्रेस रूपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारलाई अधिकार दिए प्रदेशको विकासका लागि कुनै समस्या नरहेको बताउनुभयो । उहाँले संघीयताको मर्मअनुसार प्रदेशलाई अधिकार दिए देशको विकास सजिलोसँग गर्न सकिने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्