मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख



काठमाडौं । 

नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ । महानगरले पानी उत्पादक कम्पनी ए एन्ड बी वेभरेज प्रालिलाई जरिवानास्वरूप १ लाख रुपियाँ तिराएको हो ।

क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनीविरुद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो । कागेश्वरी मनोहरा नगरपालिका–६ ठेगाना रहेको ए एन्ड बी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी दिएको महानगरले जनाएको छ ।

यस्तै, पानी बोतलमा भर्नुअगाडि बोतल अनिवार्य रूपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ । यसअघि पनि महानगरले पानीको जार कम्पनीलाई पटकपटक कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्