कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी चालिसेको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने



काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने हुनुभएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लाग्नुभएको हो ।

विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले आज काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिनुभएको हो ।

उहाँले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताउनुभयो ।

“कोरोनाका कारण सावित्रिको दुःखद निधन भएपछि मैले घोषणा गरेको थियाँ, उनको ९ दिनको बच्चा सफलको पढाईमा लाग्ने सम्पूर्ण खर्च म आफै व्यहोर्छु, अहिले उनको भर्ना गर्न पाउँदा म ज्यादै खुशी छु, कक्षा १२ सम्म पढाएर जागिरको व्यवस्थासमेत मैले गर्नेछु,”– मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभयो । उहाँले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत उहाँले स्मरण गर्नुभयो ।

विद्यालयका प्राचार्य अधिकारीले कोरोनाबाट ज्यान गुमाएका परिवारको शिक्षा क्षेत्रमा सहयोग गरेको भन्दै मन्त्री बस्नेतलाई धन्यवाद दिनुभयो । प्राचार्य अधिकारीले मृतक चालिसेको जेठो छोरोसमेत पहिलेदेखि नै आफ्नो विद्यार्थी भएकाले कोरोनामा दुःखद निधन भएसँगै जेठो छोराको पठनपाठनमा विद्यालयले सहयोग गरेको उल्लेख गर्नुभयो ।

विस २०५७ सालमा स्थापना भएको कान्तिपुर इङ्लिस एकेडेमीमा हाल ५५० विद्यार्थी अध्ययनरत छन् । मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतिको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गर्नुभएको भन्दै आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्