चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सा शास्त्रमा कोटा बढाइने स्वास्थ्य मन्त्रीको दाबी 



काठमाडौँ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर छिट्टै चिकित्सा शास्त्रमा कोटा बढाइने बताएका छन् । नेपाल चिकित्सक संघको आयोजनामा आईतबारदेखि राजधानीमा सुरु भएको तेस्रो एनएमए नेशनल हेल्थ समिटको उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शास्त्र पढ्न चाहने विद्यार्थीहरुको चाहना र भविष्यमा हुन सक्ने स्वास्थ्य क्षेत्रको जनशक्ति अभाव हुने अवस्था आउन नदिन ऐनमा तत्काल संशोधन आवश्यक रहेकोमा जोड दिएका हुन ।

चिकित्सा शास्त्र अध्ययन गरेका व्यक्तिहरुलाई स्वदेशमै रोजगारी दिने गरी आफूले स्वास्थ्यमा दरबन्दी बढाउन पहल गरिसकेको बताउदै त्यसको परिणाम चाडै देखिने दाबी गरे । काम गर्ने जागर कायम रहेकै बेला उमेर हदका कारण अवकास प्राप्त गरेका विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि आफ्नो थप सेवा प्रदान गर्न सकुन् भन्ने ध्येयले आफूले ३०० बेड भन्दा माथिका अस्पतालहरुमा एमबिबिएसको पठन पाठन गर्न सक्ने निर्णय गरेर क्याबिनेटमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए । १०० देखि ३०० बेडसम्मका अस्पतालमा नर्सिड र पारामेडिक्स पठाउन सकिने निर्णय गरेकोले त्यसमा नेपाल चिकित्सक संघले सहयोग गर्नु पर्ने मन्त्री बस्नेतले बताए । राम्रो काम गर्दा गर्दै पनि बदनाम गर्न एक गिरोह पछि लागेको दाबी गर्दै राम्रो काम गर्दा कुनैको पनि डर मान्नु पर्ने अवस्था नरहेकोमा जोड दिए ।

कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हुने खानेका लागि मात्र नभएर हुदा खानेको लागि पनि स्वास्थ्य सेवा उपलब्ध गराउन  लागि परेको बताए । समिट आयोजक कमिटिका अध्यक्ष प्रा. डा. चोपलाल भुसालले स्वास्थ्य सेवामा सवैको पहूच हुनु पर्ने गरी राज्यले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने आवश्यकता औँल्याए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले आयोग ऐन अनुसार सञ्चालन हुने भएकाले ऐन संशोधन गरे पछि कोटा बढाउन सकिने बताए । बैज्ञानिक कमिटीका संयोजक डा. आशिष श्रेष्ठले समिटमा समावेश गरिएका बिषयगत छलफलले स्वास्थ्य सुधारमा उल्लेखनिय भूमिका खेल्ने बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई हस्तान्तरण गरिने र त्यसले निति निर्माणमा सहयोग पुग्ने बताए । सम्मलेन सोमबार सम्पन्न हुने छ । सम्मेलनमा आइतबार विभिन्न ४ वटा विषयमाथि प्यानल डिस्कसन भएको थियो । सम्मेलनमा स्वास्थ्य क्षेत्रका ३०० भन्दा बढीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्