समितिबाट जीर्ण भवन भत्काउन शिफारिस



काठमाडौं ।

वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकाले भत्काउन सिफारिस गरिएको छ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनीता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन सिफारिस गरेको हो ।

२०७९ फागुन ११ गते बसेको महानगरपालिकाको १३औं कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडा नम्बर ५ हाँडीगाउँमा रहेको कित्ता नम्बर ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको हो । यो व्यवस्थाबमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र समितिको सिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्नेछ ।

यो व्यवस्थाबमोजिम समितिका संयोजक डंगोलले २०८० भदौ १२ गते त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाकातर्फबाट केन्द्रीय समिति गठन गर्न र संयुक्त बैठकको वातावरण मिलाउन अनुरोध गरेकी थिइन् । भदौ २७ गते दुवै पक्षका अधिकारीबीच संयुक्त बैठक बस्यो ।

जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर कात्तिक १९ गते वडामा निवेदन बुझाएका थिए । निवेदन वडाबाट प्रमुख, प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुग्यो । विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इन्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इन्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन गरेर जिम्मेवारी दियो ।

यो समितिले मंसिर ४ गते प्रतिवेदन दिएको छ । प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गारो चर्किएर ढल्किएकाले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ । पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गारो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गारो ठाउँ(ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्यालवरपर ठाउँ(ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्