प्रहरीको दमन बावजुद अर्जेन्टिनाको जित



लन्डन, (एजेन्सी) । 

ब्राजिलका प्रहरीले पाहुना टोली अर्जेन्टिनाका समर्थकमाथि दमन गरेको खेलमा ब्राजिलले जित भने हात पार्न सकेन । यो फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी (कन्मेबोल) छनोटमा ब्राजिल अर्जेन्टिनासँग १–० ले पराजित भएको हो । ब्राजिलका प्रहरीको सो कार्यले गर्दा खेलमा समेत अवरोध सिर्जना भएको थियो । अर्जेन्टिनाको टोलीले मैदान समेत छाड्नुपरेको थियो । यसले गर्दा निर्धारित समय भन्दा करिब आधा घण्टापछि खेल संचालन भएको थियो ।

तनाबग्रस्त अवस्थामा सुरु भएको खेलको पहिलो हाफमा धेरै फाउल पनि भए । घरेलु मैदानमा विश्वकप छनोटमा पहिलो हार बेहोरेको ब्राजिलविरुद्ध अर्जेन्टिनी रक्षक निकोलास ओटामेन्डीले निर्णायक गोल गरेका थिए । उनले ६३औं मिनेटमा जियोभानी लो सेल्सोको कर्नरमा हेडर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ८१औं मिनेटमा ब्राजिल १० जनामा सिमित भएको थियो । जोलिंगटनले रोड्रीगो डे पलमाथिको फाउलका लागि सोझै रातो कार्ड पाएपछि ब्राजिलले खेलको अन्तिम १० मिनेट १० जनाले खेल्नु परेको थियो ।

यस्तै कन्मेबोल छनोट अन्तर्गत भएका अन्य खेलमा उरुग्वे, कोलम्बिया र इक्वेडोर पनि विजयी भएका छन् । उरुग्वेले बोलिभिया माथि ३–० को जित निकालेको हो । कोलम्बियाले पेरुमाथि र इक्वेडोरले चिली माथि समान १–० को जित निकाले । पेरू र भेनेजुएलाले भने १–१ को बराबरी खेले ।छनोट अन्तरगत ६ चरण सकिँदा अर्जेन्टिना १५ अंकसहित शीर्ष स्थानमा छ भने उरुग्वे १३ अंकसहित दोस्रो स्थानमा छ । कोलम्बिया १२ अंकसहित तेस्रो, भेनेजुएला ९ अंकसहित चौथो र इक्वेडोर ८ अंकसहित पाँचौं स्थानमा छ । ब्राजिल भने ७ अंकका साथ छैठौं स्थानमा छ ।

खेलअघि के भयो त ?
दर्शकदीर्घामा दुबै टोलीका समर्थकले झगडा शुरु गरेका थिए । रियो दि जनेरियोको रंगशालामा राष्ट्रिय गान हुँदा समेत झगडा भएको थियो । त्यसपछि ब्राजिलका प्रहरीहरुले लाठी चार्ज शुरु गरे । सबैभन्दा बढी अर्जेन्टिनाका समर्थक भएको स्थानमा भएको थियो । यसले नै झगडाले उग्ररुप लिएको थियो ।

केही समर्थकले सिट उखालेर प्रहरीतिर फ्याँकेका थिए । कोही मैदानमा भागेका थिए । अर्जेन्टिनाका खेलाडी र केही ब्राजिली पदाधिकारीले त्यो अवस्थालाई शान्त गर्न कोशिस गरे पनि । आफना समर्थकमाथि प्रहरी दमन देखेर अर्जेन्टिनी खेलाडी एमिलियानो मार्टिनेजले प्रहरीको हातबाट लट्ठी खोस्न गएका थिए । यो सामसुम पार्न करिब ३० मिनेट लागेको थियो ।ब्राजिलका कप्तान माक्र्विनोसले पनि मैदान गएर शान्त हुन अपिल गरेका थिए । उनले बताए—हामी परिवार, महिलाहरु र बच्चाहरुबारे चिन्ति भएका थियौं । उनीहरु दर्शकदीर्घामा डराइरहेका थिए ।

मेसी रिसाए

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पनि डरलाग्दो अवस्थालाई शान्त गर्न कोशिस गरेका थिए । उनले बताए—प्रहरीहरुले मान्छेलाई पिटिरहेको देख्दा निकै खराब लाग्यो । प्रहरीले लट्ठीले यसरी हान्नु हुन्नथियो । हामी लकर रुममा गए किनभने यसले अवस्थालाई शान्त पार्ने हाम्रो विश्वास थियो । हाम्रो पहिलो प्राथमिकता भनेको परिवारलाई बचाउनु हो, हामीले उनीहरु डराइरहेको अवस्थामा खेल्नु पनि उचित ठानेनौं । खेल भने दोस्रो प्राथमिकतामा पर्छ ।

प्रतिक्रिया दिनुहोस्