घरमा किताब छैन विद्यालयमा साथी



– त्रिपालमै बस्न डराउँछन् विद्यार्थी
–विद्यार्थीमा कसरी ज्यान जोगाउने भन्ने चिन्ता
–खुला आकाशमुनि चौरमा पठनपाठन

जाजरकोट  । 

दशैंतिहारको लामो बिदाले बन्द भएका विद्यालय सञ्चालनमा आए पनि विनाशकारी भूकम्पका कारण पढाइ नियमित हुन सकेको छैन । कात्तिक १७ गते मध्यरात गएको भुइँचालोले विद्यालयका भवन क्षतिग्रस्त भएपछि बालबालिकालाई पठनपानठमा समस्या परेको हो ।

भूकम्पले घर भत्किएर क्षतिग्रस्त हुँदा किताबकापीलगायत लत्ताकपडा पुरिएपछि बालबालिका बिचल्लीमा परेका छन् । घरमा किताबकापी छैन भने विद्यालयमा सँगै पढेको साथी नपाउँदा बालबालिका पीडित बनेका छन् । उनीहरूले पढ्नेभन्दा पनि ज्यान कसरी जोगाउने भन्ने चिन्ताले सताउन थालेको बताएका छन् । घर भत्किएर भग्नावशेष भएको देखेका विद्यार्थी विद्यालयमा जाँदा विद्यालयको भवन बस्न नमिल्ने भएपछि अधिकांश विद्यालयले खुला आकाशमुनि चौरमा पठनपाठन शुरू गरेका छन् ।

घरमा किताबकापी र विद्यालयमा साथी खोज्न थालेका विद्यार्थी त्रासमा रातदिन बिताउन बाध्य भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले ४ सय २३ विद्यालयमध्ये ३ सय ४१ विद्यालय पूर्ण क्षतिग्रस्त भएका छन् । जसमध्ये २ सय ८९ पूर्ण क्षति, ५ सय ९८ आशिक क्षति, १ हजार ५ सय ९९ कक्षाकोठामा क्षति पुगेको बताउनुभयो । भूकम्पमा परी २४ विद्यार्थीको मृत्यु, ९७ विद्यार्थी घाइते भएको शिक्षा विकास तथा समन्वय इकाइले संकलन गरेको तथ्यांकमा उल्लेख छ । विद्यालयका शौचालय, सोलार सिस्टम, घेराबार, आईसीटी ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशालामा क्षति पुगेको कार्यालय प्रमुख मल्लले बताउनुभयो ।

४ सय २३ विद्यालयमा पढ्ने ७५ हजार ८ सय ५५ विद्यार्थी प्रभावित भएका छन् । लक्ष्मी प्राप्ति माध्यमिक विद्यालयका शिक्षक राजन देवकोटाले लामो समय बन्द भएका विद्यालय सञ्चालनमा आएपछि कार्यक्षेत्रमा पुग्दा आफ्नो सामान पाउन नसकेको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले भूकम्पबाट प्रभावित विद्यार्थीको मनोबल बढाउन शिक्षक विद्यार्थीसँग खेल्ने ज्ञान सीप र क्षमता विकासमा लाग्न प्रेरणा दिने, पठनपाठनलाई नियमित गर्न खुला चौरमा अस्थायी आवास निर्माण गरी पठनपाठन शुरू गर्ने बताउनुभयो । सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयमा राहत सामग्री संकलन केन्द्र भएकाले राहत सामग्री वितरणको कार्य सकिएपछि विद्यालय सञ्चालन हुने त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक जनक केसीले बताउनुभयो ।

त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रशन्न शाहले घर भत्किएर भग्नावशेष भएको छ । कापीकलम, लत्ताकपडा घरभित्र पुरिए, शैक्षिक सामग्री छैन । विद्यालय सञ्चालन भएको छैन, के लिएर पढ्ने भन्नुभयो । उहाँले भन्नुभयो– ‘राहतबाट पाएको गाँस त्रिपालमुनिको बास छ । भूकम्पले गाँसबास लुटेपछि त्रिपालमै बस्न डर लाग्छ । भूकम्प आउँछ कि भनेर घर देखेपछि डर लाग्छ । विद्यालयका भवन पक्की भए पनि भर लाग्दैन, कति बेला के हुन्छ थाहा छैन ।’

भविष्य सुन्दर बनाउन देखेका सुन्दर सपना सबै भूकम्पले उजाड बनाइदियो । घरमा खाना र नाना छैन, विद्यालय सञ्चालन भए पनि पाठ्यपुस्तक छैन, के पढ्ने हो । प्रशन्नजस्तै अधिकांश विद्यार्थीमा पढ्नेभन्दा पनि ज्यान कसरी जोगाउने भन्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्