उपत्यकाको सुरक्षा व्यवस्था कडा

प्रहरीको घेरामा दुवै पक्षको प्रदर्शन



–७ हजार सुरक्षाकर्मी परिचालित
–दुवै पक्ष आमने सामने हुने आशंका
–सेनासमेत स्ट्यान्डबाइ अवस्थामा

काठमाडौं । 

सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आज गर्ने प्रदर्शनमा कडा सुरक्षा व्यवस्था गरेको छ । दुवै पक्षबीच झडप हुनसक्ने आकंलन गर्दै प्रदर्शन स्थललाई प्रहरीले साङ्लो हालेर घेरा हाल्ने तयारी गरेको छ । सशस्त्र र नेपाल प्रहरीको घेराभित्र रहनेगरी प्रदर्शन गर्न मिल्नेगरी सुरक्षा व्यवस्था अपनाइएको छ ।

प्रदर्शनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर प्रहरी र सादा पोशाकका गरी ७ हजार प्रहरीले सुरक्षा दिने भएका छन् । तीमध्ये नेपाल प्रहरीका करिब ४ हजार ५ सय, सशस्त्रका १ हजार ६ सय, राष्ट्रिय अनुसन्धान विभागका करिब ३ सय ५० प्रहरी परिचालन हुनेछन् । भीड नियन्त्रण र दुवैतर्फकै गतिविधिलाई सूक्ष्म अध्ययन गर्न गुप्तचर प्रहरीसहित सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो । करिब २ हजारको संख्यामा सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । नेपाली सेना सडकमा ननिस्कए पनि आवश्यक परेको खण्डमा परिचालित हुने व्यवस्था गरिएको छ ।

स्थानीय प्रशासनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ अभियानको नारा बोकेका मेडिकल व्यवसायी प्रसार्इंलाई बल्खु र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ को नारा बोकेका युवासंघ तथा अनेरास्ववियुलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । शक्ति प्रदर्शन गर्ने तयारी गरेको दुवै पक्ष छुट्टाछुट्टै स्थानमा भेला भएर नाराजुलुससहित आ–आफ्नो प्रदर्शन स्थलमा पुग्ने भएका छन् ।

दुवै पक्षले भक्तपुरबाट जुलुश प्रदर्शन गर्ने तयारी गरेको छ । प्रहरीले आजको प्रदर्शनमा हुनेसक्ने घुसपैठ र अन्य घटनालाई मध्यनजर गर्दै उपत्यका नजिकको प्रहरीलाई सतर्कतामा राखेको छ । उच्च स्रोतका अनुसार आवश्यक फोर्स तैनाथ गर्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको छ । उपत्यकाको हकमा जिल्ला प्रहरी परिसर काठमाडांै, भक्तपुर र ललितपुरका सबै वृत, प्रभाग र चौकीका प्रहरी परिचालन गरिएको छ ।

उपत्यकाका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणी आचार्यको कमान्डमा कमान्ड सेन्टर स्थापना गरिएको छ । सो सेन्टरमा सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका अधिकृत रहनेछन् । राजधानीको सुरक्षा व्यवस्थाको कमान्ड काठमाडौैं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले गर्नुहुनेछ । उहाँकै नेतृत्वमा सुरक्षा निकाय परिचालन हुनेछन् । प्रदर्शनमा दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले विभिन्न स्थानमा विशेष फोर्स तैनाथ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले निषेधित क्षेत्र घोषणा गरेका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको थप सुरक्षाकर्मी परिचालन हुने छन् । प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको बताउनुभयो ।

प्रहरीले मंगलबार र हिजो बुधबार उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारी साधनको विशेष चेक जाँच शुरू गरेको छ । संकटकालको झल्को दिनेगरी प्रहरीले पृथ्वी राजमार्गको धादिङको विभिन्न स्थान र उपत्यका प्रवेश गर्ने नाकामा यात्रु ओरालेर समेत चेकजाँच गरेको थियो । उपत्यका प्रवेश गर्ने फर्पिङ, थानकोट, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीमा सवारी साधन रोक्दै यात्रु ओरालेर चेकजाँच गरेको थियो । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले आजको प्रदर्शनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था तयार गरिएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखेर गृह मन्त्रालयमा पटक पटक बैठक बसेको थियो ।

अत्यावश्यक कामका लागि मात्रै सवारी चलाउनुस्

यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणलाई अत्यावश्यक काम भए मात्र सवारी साधन चलाउन आग्रह गरेको छ । साथै सडकमा निस्कनुअगाडि १०० वा १०३ मा टेलिफोन गरेर वा ट्राफिक एफएम ९५ दशमलव ५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

आज उपत्यकामा हुने प्रदर्शनमा सवारी आवागमनमा अस्तब्यस्त हुने सम्भावना देखेपछि कार्यालयले सो सूचना जारी गरेको हो । ‘तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं’–सूचनामा भनिएको छ । जिल्ला प्रशासन कार्यलयल काठमाडौं र ललितपुरले सो कार्यक्रमलाई लक्षित गरी यसअघि नै आधा दर्जन बढी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

संकटकाल बिर्साउने राजमार्ग सुरक्षा जाँचले सास्ती
सीताराम अधिकारी, धादिङ  ।

काठमाडौंमा आज मंसिर ७ गतेको प्रदर्शनलाई लक्षित गरेर धादिङको ठाउँठाउँमा गरिएको सुरक्षा जाँचका कारण संकटकालमा जसरी यात्रुले सास्ती खेपेका छन् । संविधानमा उल्लिखित अधिकार हनन हुने गरी स्वतन्त्रपूर्वक हिँडडुल गर्न समेत नदिने गरी सुरक्षा जाँच गरिएको हो । सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीले धादिङको मझिमटार, गल्छी, फुर्केखोला, खानीखोलालगायतका स्थानमा एक ठाउँमा जाँच गरिएको यात्रुलाई ठाउँठाउँमा जाँच गरिएको हो ।

युवा संघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन काठमाडौंमा राखिएपछि मंसिर, ५ र ६ गते राजमार्गका सात ठाउँमा यात्रु जाँच गरिएको र प्रदर्शनमा जान लागेको भनिएकाहरूलाई फर्काइएको गल्छीका स्थानीय सञ्चारकर्मी सन्दीप घिमिरेले जानकारी दिनुभयो ।

गल्छीमा मोटरसाइकल र मालवाहक ट्रकहरू जाँच गरिएको छ भने मझिमटारमा यात्रुवाहक बस र खानीखोलामा निजी सवारीसाधन जाँच गरेर हातहतियार र लाठीभाला काठमाडौंमा लान नदिने गरी सुरक्षा जाँच गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । अराजकजस्तो शंका लाग्नेहरूलाई सुरक्षा जाँचका क्रममा फर्काइएको मिश्रको भनाइ छ ।

युवा संघले काठमाडौंमा हुने प्रदर्शनमा युवाहरूलाई काठमाडौं लान केही यात्रु बस मंसिर ७ गतेका लागि रिजर्भ गरेको छ । राजमार्गमा गरिएको सुरक्षा जाँचका कारण रिजर्भ बस लान नसकिने देखिएपछि मंसिर ६ गते काठमाडौं जान थालेको युवा संघका किरण पाठकले जानकारी दिनुभयो । धादिङको सिमाना नागढुंगामा भने सुरक्षा जाँचका कारण सवारीसाधनको ४ किलोमिटरसम्म लाम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्