नेपाली सेना र हामी नेपाल संस्थाको सहकार्यमा राहत वितरण



जाजरकोट।

जाजरकोट भूकम्प प्रभावित जनताका लागि नेपाली सेना र हामी नेपाल संस्थाको सहकार्यमा राहत वितरण गरिएको छ । भूकम्प प्रभावितका लागि पाँच सय पिस त्रिपाल, एक सय पिस म्याट, र  साठी पिस फाइबर सिरक  नेपाल प्रहरी र वडा अध्यक्षको रोहबरमा वितरण गरिएको  संस्थाले जनाएको छ।

डोल्पाको सिमानामा पर्ने नलगाड नगरपालिकाको वडा नं – १३ भूकम्प प्रभावित क्षेत्रमा हिमपात सुरु भैसकेको अवस्था रहेको र  भौगोलिक जटिलता कारणले गर्दा कुनै पनि राहत सामग्री  एक हप्तासम्म पनि नपुगेको अवस्थामा हामी  नेपाल संस्थाले नेपाली सेना विशेष गरी उप सेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा रहेको श्री चन्दन नाथ गणस्थित नलगाड सुरक्षा बेसको सहयोगमा  सेनाको कल साइन  NA061 बेल हेलिकप्टरमा उक्त राहत सामग्री पुर्‍याएको थियो।

जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका धेरै नै गाउँहरु छन्।  भूकम्प गइसकेको एक हप्तासम्म पनि  जनताकोमा  पाल पुर्‍याउन  नसकेको कुराले स्थानीय र संघीय सरकार माथिको आशामा प्रश्न उठेको छ  ।

 जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णपुरमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्