खाँचो तटस्थ प्रशासनको



जनतालाई सेवा दिने र सरकारप्रति जनविश्वास सिर्जना गर्ने महत्वपूर्ण भूमिकामा रहेको प्रशासनिक संयन्त्र सधैँ पारदर्शी, निष्पक्ष र तटस्थ बन्न जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल पार्न राजनीतिक नेतृत्वको साथसाथै प्रशासनिक नेतृत्वको पनि महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको असल सल्लाहकारको रुपमा रहनुपर्छ ।

प्रशासनिक संयन्त्रमा रहेका सबै कर्मचारीहरु निष्पक्ष र तटस्थ भएर काम गर्ने हो भने धेरै समस्या समाधान हुन सक्छ । तर विडम्बना, हामीकहाँ प्रशासनिक संयन्त्र निष्पक्ष र तटस्थ बन्न सकेका छैनन् । सामान्यतया प्रशासन क्षेत्र निष्पक्ष हुनु भनेको राजनीतिकरुपमा निष्पक्ष हुनु हो । प्रशासनिक संयन्त्रमा रहेका व्यक्तिहरुले सही कुराको समर्थन र गलत कुराको विरोध गर्नुपर्छ । सत्यताप्रतिको प्रतिबद्धता नै निष्पक्षता हो ।

यसै गरी प्रशासकहरु आफ्नो जिम्मेवारी र कामप्रति प्रतिबद्ध हुनु पनि निष्पक्षता हो । प्रशासनले कुनै वाद वा विचारको पक्षपोषण गर्नुहुँदैन । यी विषयहरु सैद्धान्तिक भए पनि आम कर्मचारी संयन्त्रले यो सिद्धान्तलाई व्यवहारमा उतार्न सकिरहेको छैन । बरु यसको ठीक विपरीत देखिने गरेको छ । अधिकांश प्रशासकहरु सत्य कुराको विषयमा राजनीतिक नेतृत्वसँग अडान लिन सक्दैनन् ।

अडान लिनुको साटो प्रशासनिक नेतृत्वमा रहने उच्च पदस्थहरु मन्त्रीको ‘एस म्यान’ बन्ने गरेका छन् । प्रशासकहरु मन्त्रीको एस म्यान बन्न पुग्दा उनीहरुले आफ्नो स्वविवेकले काम गर्न सक्दैनन् । प्रशासनिक संयन्त्रले आफैँले राजनीतिक हस्तक्षेपको आमन्त्रणसमेत गर्ने गरेका छन् । वास्तवमा प्रशासन स्थायी सरकार हो । त्यसैले यो व्यावसायिक हुन जरुरी छ ।

अहिले संघ, प्रदेश र स्थानीय तह सञ्चालन गर्ने कतिपय राजनीतिक नेतृत्वमा बुझाइमा समस्या देखिन थालेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले कानुनलाई समेत हातमा लिएर आफूखुशी काम गर्न थालेको पाइएको छ । यस्तो अवस्थामा प्रशासनिक नेतृत्वमा रहेका कर्मचारीहरुले राजनीतिक नेतृत्वको रुपमा रहेकाहरुलाई कानुनका पक्ष र आवश्यकताका बारेमा प्रस्ट पार्न जरुरी छ । काले काले मिलेर खाऊँ भाले भन्ने प्रवृत्ति दुवै पक्षले गर्नुहुँदैन ।

जनप्रतिनिधिहरुले कर्मचारीलाई गलत काम गर्नका लागि दिएका निर्देशनहरु कर्मचारीहरुले मान्नुपर्छ भन्ने छैन । यस्तो अवस्थामा कर्मचारीले जनप्रतिनिधिहरुलाई कानुनी पक्षले र आर्थिक अनुशासनका बारेमा प्रस्ट पार्न जरुरी छ । कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरुको गोप्य मिलेमतोमा गैरकानुनी काम भइरहेको तथ्यसमेत सार्वजनिक भइरहेका छन् । आर्थिक फाइदा हुँदासम्म दुवै पक्षबीच राम्रो साँठगाँठ हुने तर भागवण्डा नमिलेमा मात्रै गलत कामहरु बाहिर आउने गरेको तीतो तथ्य हामीसँग छ । यस्तो प्रवृत्ति गलत हो ।

प्रशासनिक संयन्त्रमा रहेका कर्मचारीहरुले चाहेमा धेरै हदसम्म सुधार ल्याउन सकिन्छ । जनतालाई सेवा दिने विषयमा पनि कर्मचारीहरु संवेदनशील भएर लाग्न सके भने आम जनतामा उनीहरुकै साख बढ्न पुग्छ ।

त्यसैले प्रशासनिक संयन्त्रमा बसेकाहरुले अब जिम्मेवारी बहन गर्दा राजनीतिक मान्यताको प्रभावमा पर्नुहुँदैन । त्यसै गरी राजनीतिक नेतृत्वलाई सल्लाह दिँदा वस्तुगत भएर दिनुपर्छ भने रानीतिक कार्यकारीलाई असल निर्णय गराउन उत्प्रेरित गर्नुपर्छ र त्यस्ता निर्णयहरुको कार्यान्वयन सशक्तरुपमा गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्