विश्वमा शान्ति कायम गर



इजरायल नियन्त्रित गाजा शहरको एउटा अस्पतालमा भएको शक्तिशाली विस्फोटमा सयौंको ज्यान गएको छ । इजरायलले गरेको सो आक्रमणको विश्वभर विरोध भएको छ ।

अस्पतालजस्तो अत्यावश्यक सेवा दिने निकायमाथि भएको आक्रमणको नेपालले समेत विरोध जनाएको छ । मध्यएसियाका अधिकांश देशबाट यस क्रुर र अमानवीय घटनाको विरोध भएको छ । मंगलबार भएको सो आक्रमणमा मृत्यु हुनेमा अधिकांश बालबालिका र ज्येष्ठ नागरिक छन् । इजरायली आक्रमणमा परेर मृत्यु भएका गाजा क्षेत्रका सर्वसाधारणमध्ये केही अस्पतालमा शरण लिन पुगेका थिए । सो घटनाको इजिप्ट, अरब, इरानलगायत मुलुकले कडा आपत्ति जनाएका छन् ।

हमासले २० असोजमा इजरायलको म्युजिक कन्सर्टमा एकाएक आक्रमण गरेपछि त्यसको प्रतिकारमा इजरायलले लगातार हवाई र रकेट आक्रमण जारी राखेको छ । मंगलबारबाट जमिनबाट आक्रमण गर्ने तयारी थालेको इजरायलले एकाएक अस्पतालमा बम आक्रमण गरेको थियो । तथापि इजरायलले सो आक्रमणको जिम्मा लिएको छैन । प्लालेस्टाइनले सो आक्रमण इजरायलले गरेको जनाएको छ ।

हमासले गैरसैनिक नागरिकलाई समेत बन्धक बनाएर इजरायललाई धम्की दिएपछि ती नागरिकलाई छुटाउन र हमासलाई निमिट्यान्न बनाउन १२ दिनदेखि लगातार आक्रमण जारी राखिएको छ । इजरायलले गाजा क्षेत्रमा पानी, विद्युत् र इन्धन आपूर्ति ठप्प पारेको छ । बंकरमा बसेका जनता भोकभोकै मर्ने अवस्थामा छन् । इजरायलको चेतावनीपछि अहिले गाजाका लाखौं प्यालेस्टाइनी विस्थापित भइसकेका छन् । कतिपय इजिप्टको सिमानामा अलपत्र परेका छन् ।

इजरायली कारबाही र प्यालेस्टाइनी लडाकू समूहहरूबीच भएको युद्धमा अहिलेसम्म ४ हजार ५ सयभन्दा बढी मारिएका छन् । अक्रमणमा १६ हजार हाराहारीमा घाइते भएका छन् । अस्पतालमा विस्फोट भएपछि बढी चिन्तित देखिएको अन्तर्राष्ट्रिय समुदायले शान्ति स्थापना गर्ने जोड दिएको छ । दुई पक्षबीच युद्धविराम नभए विश्वयुद्ध हुने आशंका व्यक्त गरिएको छ । यसअघि रुस र युक्रेन युद्धले विश्वभर खाद्यसंकट उत्पन्न भएको थियो । यो युद्धले विश्व विभाजित हुने अवस्थामा पुगेको छ ।

आक्रमणको भोलिपल्ट इजरायल पुग्नुभएका अमेरिकी राष्ट्रपति जो वाइडनले हमासविरुद्धमा आफ्नो समर्थन जारी रहेको बताएका छन् । ४ घण्टा इजरायल बसाइको क्रममा वाइडनले विश्वका आतंकवादलाई ध्वस्त पार्न अमेरिकाको सहयोग निरन्तर रहने बताएका छन् । तर हमासलाई सिध्याउने बहानामा निहत्था प्यालेस्टाइनीमाथि आक्रमण रोक्नुपर्छ । हमासको गल्तीलाई कदापि स्वकार्नुहुँदैन । शान्ति स्थापना गर्न विश्वका शक्तिशाली राष्ट्र एकजुट हुनुपर्छ । त्यसको लागि संयुक्त राष्ट्र संघले मुख्य भूमिका खेल्नुपर्छ । संयुक्त राष्ट्र संघले विश्वभर शान्तिको पहल गर्नुपर्छ अनि मात्र शान्ति स्थापना हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्