विघटनबाट जोगियो कोशी प्रदेशसभा



कोशी प्रदेशसभा के हुने भन्ने अन्यौलता छाइरहेको बेला नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि तत्कालका लागि प्रदेशसभाको अल्पायुमै हुन लागेको अवसान रोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थनमा विद्रोही कांग्रेस नेता कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि राजनीतिमा जे पनि हुन्छ भन्ने उक्ति प्रमाणित भएको छ । अस्थिर राजनीतिको बीजारोपण भएको कोशी प्रदेश सरकारको आयु अब पूरा अवधि हुन्छ भन्नेमा आशा गर्ने ठाउँ पलाएको छ । केन्द्रमा भएको सत्ता गठबन्धनलाई चुनौती दिँदै खडा भएको यो गठबन्धनलाई भत्काउन गरिएको प्रयास असफल भएपछि सत्तारुढ दलका नेताहरु बसेर अहिलेको सरकारको विकल्प नभएको भन्दै विज्ञप्ति निकाल्न बाध्य भएका छन् । सफलताभन्दा पनि असफलताको पगरी पहि¥याउँदै गएको अहिलेको सरकारले सत्तालाई टिकाइराख्न गरेको चालबाजीले जनतामा भने चरम निराशा छाएको छ । अहिलेको दलीय व्यवस्थाविरुद्ध लागेका देशी तथा विदेशी शक्तिहरु सलबलाइरहेको अहिलेको अवस्थामा सबै दल एक ढिक्का भएर अघि बढ्नुपर्नेमा निषेधको राजनीति हाबी हुनुले पनि कतै लोकतन्त्र नै धरापमा पर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।

मुलुक संघीयतामा गए पनि दलहरुले हरेक निर्णय केन्द्रमा नै बसेर गर्ने र केन्द्रको निर्णय लागू गराउन खोज्दाको परिणाम केशी प्रदेशमा देखिएको छ । जनभावना र कार्यकर्ताको भावना विपरीत जान खोजे जे पनि हुन सक्छ भन्ने सन्देश कोशीका विद्रोही कांग्रेसका नेता तथा कार्यकर्ताहरुले दिएका छन् । अहिले केन्द्रले गरेको निर्णयको अवज्ञा गरेर गठन भएको सरकारले जनभावनालाई कदर गर्दै काम गर्नुपर्ने दायित्व पनि थपिएको छ । जनताको भावनालाई आत्मसात् गर्दैै अघि बढे यो सरकारप्रति जनताको भरोसा बढ्छ, होइन भने यसअघिका सरकारजस्तै यो सरकार पनि विवादको घेरामा तानिने भएकाले कार्की नेतृत्वको सरकारका लागि यो परीक्षाको घडी पनि हो । विद्रोहबाट जन्मिएको यो सरकारप्रति जनतामा आशा पलाएकाले यो सरकारलाई गलत गर्ने छुट छैन । त्यसैले नयाँ सरकारको चुनौती भनेको कोशी प्रदेशमा देखिएको विभिन्न खाले समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै अघि बढ्नुपर्ने देखिन्छ । विद्रोह जायज हो वा होइन भन्ने भोलिको दिनले देखाउला तर केन्द्रले जे भन्यो त्यही मान्नुपर्छ भन्ने सोचको अन्त्य यो विद्रोहले देखाइदिएको छ ।

अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रलाई भने नराम्रोसँग झड्का लागेको छ । नेपाली राजनीतिमा चतुर खेलाडीको रुपमा प्रस्तुत हुँदै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालका लागि यो विद्रोहले कतै सत्ता भोलि नै पल्टने त हैन भन्ने सन्देश पनि दिएको छ । आफ्नो सत्ता बचाउनका लागि कोशी विद्रोहको मुख्य योजनाकार शेखर कोइरालालाई साक्षी राखेर केन्द्र सरकारलाई तल–माथि केही नगर्ने सहमति गराउन बाध्य हुनुले पनि मुलुकमा सत्ता उलटपुलट हुन लागेको हो कि भन्ने सन्देश दिन खोजेको देखिन्छ । जे होस्, कोशी प्रदेशसभा विघटन हुनबाट जोगाएकोमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई हार्दिक बधाई ।

प्रतिक्रिया दिनुहोस्