उद्धारसँगै आत्मबल बढाऊ

0
Shares

इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । गत शनिबार प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु र कैयौँ घाइते भएको दुःखद घटना सार्वजनिक भएलगत्तै इजरायलमा भएका नेपालीहरुको जीवनरक्षाका लागि आम चासो बढ्नु स्वाभाविक हो । सो घटनामा परी दिवंगत हुनेका परिवार, घाइते र बंकरमा रहेका अलपत्र नेपालीहरुको चित्कार सरकारले सुनिरहेको र उद्धारका लागि प्रधानमन्त्रीसहितको सरकारी टोलीले पहल गरिरहेको बताइएको छ । विश्वका अन्य द्वन्द्वग्रस्त क्षेत्रमध्ये तुलनात्मकरुपमा सुरक्षित क्षेत्र मानिएको इजरायलमा यति ठूलो मात्रामा नेपालीको मानवीय क्षति भएको सम्भवतः यो पहिलो घटना हो ।

५० वर्षअघि योम किपर युद्ध शुरु भएको (६ अक्टोबरको) भोलिपल्ट शनिबार प्यालेस्टाइनको विद्रोही सेना हमासले इजरायलमाथि गरेको आक्रमणमा १० नेपालीसहित ६ सयभन्दा बढी मारिएको घटनाले यतिखेर विश्वमै तहल्का मच्चाएको छ । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा तीनजना नेपालीसहित सयौंको संख्यामा घाइते भएका छन् । विश्व समुदायबाट हेर्दा इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली नागरिकहरु छिटपुटरुपमा प्रभावित भएको देखिए पनि नेपालका लागि यसलाई निकै दुःखदायी र अविस्मरणीय घटनाका रुपमा लिन सकिन्छ । सिंगो विश्वलाई नै हलचल दिने गरी भएको यो घटनापछि नेपाली नागरिकको जीउधनको सुरक्षाको आवाज आम जनसमुदायसम्म पुगेको अवस्था छ ।

प्यालेस्टाइन आक्रमणको घटनालगत्तै सरकारले इजरायलमा रहेका नेपालीहरुको अवस्थालाई मेहनतका साथ नजिकबाट नियाल्दै उद्धारका आवश्यक प्रक्रियाहरु अवलम्बन गरिरहेको नेपाल सरकारले जनाएको छ । तर युद्धग्रस्त क्षेत्रमा फसेका घाइते र मृतकहरुको उद्धारको पहल फितलो भइरहेको छ कि भन्ने आम मानिसमा आभास पैदा भएको छ । युद्धको चपेटामा परेका निहत्था नेपालीको चित्कारले सरकारी पहललाई छायामा पारेको जस्तो देखिन्छ । यद्यपि युद्धग्रस्त क्षेत्रबाट उद्धारको प्रक्रिया त्यति सहज छैन । उद्धारको प्रक्रियासँगै घाइते तथा अन्यौलतामा बाँचिरहेका नेपालीहरुलाई हौसला र आत्मविश्वासको भने आवश्यकता छ । इजरायलमा फसेका नेपालीमात्रै नभई सबै मुलुकका निहत्था नागरिकप्रति सहानुभूति तथा आत्मबल बढाउन सकियो भनेमात्रै उनीहरुमा बाँच्ने आशा पलाउँछ र उनीहरुले मेरो सरकार छ भन्ने अनुभूति गर्न सक्छन् । सो घटनामा परेका सबैको उद्धार गरी स्वदेश फिर्ताको पहल गर्ने कुरामा सरकार स्वाभाविक सचेत छ । तर, घटनालाई अतिरञ्जित बनाउने र पीडित परिवारजनमा आहत पु¥याउने खालका गतिविधिबाट सजग र सचेत हुन भने त्यत्तिकै जरुरी छ ।

इजरायलको युद्धमा आफ्ना परिवारका सदस्यहरु मृत्यु भएको र फसेको पीडाले उनीहरुको परिवार, समाजमै उकुसमुकुस छाएको छ । यो अवस्थामा घटनालाई अतिरञ्जित बनाउँदै मिथ्या सूचना प्रकाशन, प्रसारणसमेत भइरहेका छन् । यसमा सामाजिक सञ्जालदेखि कतिपय आम सञ्चारमाध्यमसमेत प्रयोग भएको पाइन्छ । यसतर्फ स्वयं सामाजिक सञ्जाल र मिडिया प्रयोगकर्ता सचेत हुनुपर्ने देखिन्छ भने सरकारी संयन्त्रले पनि यसलाई निकटबाट नियाल्नु आवश्यक छ । विगतमा विभिन्न द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाली नागरिकको उद्धारका निमित्त छिमेकी मुलुक भारतलगायत देशबाट सहयोग लिइएको थियो । भारतले इजरायलमा फसेका आफ्ना नागरिकहरुलाई उद्धारका लागि आवश्यक प्रक्रिया थालिसकेको छ । नेपालले आफ्नै पहलमा उद्धार गर्न कठिनाइ भएको अवस्थामा छिमेकी मुलुक भारतसँग समेत आवश्यक कूटनीतिक पहल गरी छिटोभन्दा छिटो उद्धार गरेर अन्य सुरक्षित मुलुकमा लैजान सक्ने विषयमा नेपाल सरकारको ध्यान जान जरुरी छ ।