विद्यार्थीको भविष्यमाथि खेलबाड नगर



त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को यही २२ गते सञ्चालन हुने प्रवेश परीक्षा स्थगित भएपछि परीक्षा दिन तयारी भएका ९ हजार ३ सय विद्यार्थीको भविष्य अन्योल भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र डिन कार्यालयको टकरावका कारण ती विद्यार्थीको भविष्य अन्योल भएको हो । डिन कार्यालयले यही १७ गते सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित भएको जनाएको छ । परीक्षा हुन नसक्नुको मुख्य जड शुल्क विवाद हो । डिन कार्यालयले वृद्धि गरेको शुल्क विद्यार्थी संगठनले स्वीकार्न नसक्दा समस्या बढेको हो ।

केही विद्यार्थी संगठनले डिन प्रा.डा. शशिधर राम जोशीलाई जबरजस्ती पत्रमा हस्ताक्षर गर्न लगाएर पुरानै शुल्कमा परीक्षा दिने सूचना जारी गर्न बाध्य पारेपछि परीक्षा बोर्डका ४ र २ जना सल्लाहकारले राजीनामा दिएका थिए । त्यसअघि ६ जना विभागीय प्रमुखले राजीनामा दिए । विभागीय प्रमुख र परीक्षा बोर्डका संयोजक एवं सदस्यले राजीनामा दिएपछि डिन कार्यालय उच्च पदस्थविहीन बन्न पुगेको छ । यसअघि असोजमा सूचना जारी गरी स्नातक तहको पूर्ण शुल्कतर्फको ७ लाख ७५ हजार रुपियाँ बनाउने निर्णय गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए । ४ लख ५० हजार रुपियाँ लिने सहमति भए पनि समस्या समाधान हुन सकेन ।

विद्यार्थी संगठनले ३ लाख १८ हजार अर्थात् पुरानै शुल्क कायम गर्नुपर्ने माग अघि सारेका छन् । यसले दुईतर्फीरुपमा फेरि झगडा शुरु भएको छ । वास्तवमा प्रवेश परीक्षा सञ्चालन गरी शुल्कको विषयमा पछि छलफल गर्दा विद्यार्थीको पढ्न पाउने अधिकार हनन हुने थिएन । विद्यार्थी र डिन कार्यालयको आन्दोलनको कारण पुल्चोकमात्र होइन पाँचवटा सम्बन्धनप्राप्त र करिब १० वटा निजी इन्जिनियरिङ क्याम्पसको भर्ना प्रक्रिया अन्योलमा छ । इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीले निजी र सरकारी क्याम्पसमा पढ्न पाउने व्यवस्था छ । हिसाब गर्दा ६ सय २३ जनाले पूर्ण छात्रवृत्ति, १ हजार ४ सय १० जनाले सरकारी कोटामा शुल्क लिएर पढ्न पाउने अनि बाँकी सम्बन्धन र आंगिक क्याम्पसमा पढ्न पाउने व्यवस्था छ । यो वर्ष १ हजार २० कोटामा अध्ययन गर्न पाउनेछन् ।

दुई महिनादेखि प्रवेश परीक्षा हुन नसकेका कारण आईओईको साख गिरेको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको क्यालेन्डर अनुसार प्रवेश परीक्षा लिन आईओई असफल भएको छ । डिनको कार्यालयले साउन २५ गतेको निर्णय अनुसार शुल्क वृद्धि गरेको विषयमा असोज ४ गते सूचना निकालेर शुल्क बढाएको जनाएको थियो । विद्यार्थीको हकहितको लागि स्थापित स्ववियु आफैँले बेवास्ता गर्दा प्रवेश परीक्षा हुन नसकेको आलोचना बढेको छ । समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयले तत्काल पहलकदमी लिनुपर्छ । समस्या समाधान गर्ने मुख्य उपाय पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्