‘किर्ते’ हस्ताक्षर परीक्षण गरिँदै

भुम्लु गाउँपालिकामा गुम्बाको रकम हिनामिना प्रकरण



काभ्रे । 

भुम्लु गाउँपालिका वडा नम्बर ५ मा रहेको होदसल घोङाग छोईलिङ्ग तामसालिङ गुम्बा निर्माण उपभोक्ता समितिका नाममा रहेको खाताको रकम हिनामिना सम्बन्धी विचाराधीन मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले किर्तेमा संलग्न हस्ताक्षर परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

२०७९ साउन १८ गते भुम्लु गाउँपालिका ५ सल्ले मुला बारीमा रहेको उक्त गुम्बा व्यवस्थापन समिति एवं पुनर्निर्माण उपभोक्ता समितिको भेला तथा बैठकमा किर्ते हस्ताक्षर गरिएको थियो । भेलामा ७ सदस्यीय कार्य समिति र ४ सदस्यीय आन्तरिक अनुगमन तथा सुपरिवेक्षण समितिमा किर्ते व्यक्ति र नामावली तयार गरिएको थियो ।

सोही भेलामा भएको किर्ते हस्ताक्षरका कारण बैकमा भएको रकम हिनामिना भएको अदालतमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । सोही भेलाबाट गठित भनिएको समितिको बैठक २०७९ असोज ७ गते बैठक बसेको उल्लेख छ । सोही बैठकमा भने ६ जनाको उपस्थिति देखाइएको छ । उक्त उपस्थिति पनि किर्ते हो । सुरुमा किर्ते भनेका हस्ताक्षरकर्ता मध्येका कहिले अदालतमा पुगेर बयान फेरेका थिए । प्रहरीले सोही मितिमा उपस्थिति भएका भनिएकाहरूको मात्रै हस्ताक्षर परीक्षणका लागि पठाएको प्रहरीले जानकारी दिएको छ ।

‘अदालतमा दर्ता गरिएको मुद्दामा २०७९ साउन १८ गतेको हस्ताक्षर किर्ते भएकाले त्यसको परीक्षण गराई कारबाही गराई पाउँ भन्ने उल्लेख गरेका छौँ । अदालतको आदेश पनि त्यही हो । तर प्रहरीले उक्त आदेश विपरीत असोज ७ गतेको बैठकको मात्रै हस्ताक्षर परीक्षणका लागि पठाएको छ’– समितिका सचिव अमृतकुमार लामाले भने–‘मुद्दा कमजोर बनाउन मिलेमतोमा बयान समेत फेर्न लगाइएका व्यक्तिहरूको मात्रै हस्ताक्षर परीक्षण गराउन लागेको जानकारी पायौँ । यो मान्य हुँदैन ।’ लामाले प्रहरी कार्यालयमा भेला बसेकै मितिको हस्ताक्षर परीक्षणका लागि माग गरिएको जानकारी दिए ।

के हो घटना ? 

भुम्लु गाउँपालिका वडा नम्बर ५ भुम्लुसल्लेमा रहेको होदसल घोङाग छोईलिङ्ग तामसालिङ गुम्बा भूकम्पबाट प्रभावित भएको थियो । पुनर्निमाणका लागि जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोक) ले भुम्लु गाउँपालिकामा २०७७ असोज २ गते पत्र पठाउँदै उपभोक्ता समिति गठन गर्न अनुरोध गरेको थियो । २०७७ असोज ८ गते सोही ठेगानाका डुक्मा दोर्जे लामा अध्यक्ष रहेको समिति गठन भएको थियो ।

समितिमा अमृतकुमार लामा सचिव, अनिता गुरुङ्ग कोषाध्यक्ष र मठरामा लामा, शर्मिला तामाङ र मनमाया तामाङ, भोजबहादुर तामाङ सदस्य रहेको ७ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले अध्यक्ष डुक्मा दोर्जे लामा, अमृतकुमार लामा सचिव र अनिता गुरुङ्ग कोषाध्यक्षको नाममा संयुक्त दस्तखतमा खाता संचालन गर्ने निर्णय गरेको थियो । गुम्बा निर्माण कार्यको अनुगमनका लागि सुरेन्द्र देव लामा संयोजक रहेको थिरबहादुर लामा र इन्द्रबहादुर तामाङ सदस्य रहेको कमिटी गरेको थियो ।

गुम्बा निर्माणका लागि २३ लाख ८९ हजार ५ सय ८१ रुपैयाँ स्थानीय तह उपभोक्ता साझेदारी र आयोजनाको तर्फबाट ५५ लाख ७५ हजार ६ सय ८९ रुपैयाँ गरी कुल लागत ७९ लाख ६५ हजार २ सय ७१ रुपैयाँ खर्च भएको थियो । राष्ट्रिय वाणिज्य बैक धुलिखेल शाखामा रहेको खातामा ५ लाख ४ हजार मौजाद थियो । २०७९ साउन १३ गते गुम्बाको निर्माण कार्य सम्पन्न भएको थियो ।

समितिका पदाधिकारीहरुलाई जानकारी नै नगराई २०७९ साउन १८ गते डुक्मा दोर्जे लामाको अध्यक्षतामा पदाधिकारी विघटन गरेका थिए । सचिव अमृतकुमार लामा र कोषाध्यक्ष अनिता गुरुङ लामाको अनुपस्थितिमा उनीहरूकै हस्ताक्षर गरेका छन् । सचिव अमृतकुमार लामालाई बैठक पुस्तिकामा मनासिव कारण उल्लेख नगरी अमृतकुमार लामालाई हटाई उक्त स्थानमा तुलसीमान तामाङलाई र कोषाध्यक्ष अनिता गुरुङलाई हटाएर सचिव पदमा राखिएको थियो ।

हटाइएको समितिले मौजाद रहेको खाताको रकम निकालेर हिनामिना गरेका थिए ।  उक्त कार्यका लागि गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले सिफारिस गरेका थिए । किर्ते हस्ताक्षर र भुक्तानीका विरुद्ध समितिका सचिव अमृतकुमार लामा र कोषाध्यक्ष अनिता गुरुङ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका स्थानमा उजुरी गरेका थिए । किर्ते कार्यमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले सहयोग गरेको उजुरीमा उल्लेख छ । जिल्ला अदालत काभ्रेपलान्चोकले लिखत सम्बन्धी कसुरमा २०८० असार २५ गते आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्