प्रमको ‘असफल’ चीन भ्रमण !



प्रधानमन्त्री पुष्पमकल दाहाल (प्रचण्ड) चीनको साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । प्रचण्डको चीन भ्रमणलाई लिएर अहिले राजनीतिक वृत्तमा विभिन्न खाले टिप्पणी शुरु भएको छ । कतिपय राजनीतिज्ञले त प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई ‘भ्याकेसन’ भ्रमणको संज्ञा दिएका छन् । कतिपयले उहाँको भ्रमणलाई धार्मिक भ्रमणको समेत संज्ञा दिएका छन् । एक साता लामो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डको तीन दिनबाहेक अन्य दिनको चीन बसाइलाई निरर्थक बसाइको संज्ञा दिएका छन् । कैलास मानसरोवरदेखि छेन्दुको रेडपाण्डा प्रजनन केन्द्रको भ्रमणमा प्रधानमन्त्री सामेल भएपछि उहाँको भ्रमण जुन उद्देश्यका लागि हुनुपर्ने थियो त्यो नभएको भन्दै टिप्पणी हुनुलाई अस्वाभाविक मान्न सकिँदैन ।

दुई छिमेकी मुलुक भारत र चीनसँगको नेपालको सम्बन्ध समान र ऐतिहासिक हुनुपर्ने थियो तर यसपटकको प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर चौतर्फीरुपमा आलोचना हुनुले प्रधानमन्त्री प्रचण्डको लोकप्रियतामा ह्रास आएको देखिन्छ । मुलुकको कार्यकारी प्रमुखले छिमेकी मुलुकबाट मनग्य फाइदा लिनुपर्नेमा त्यसो हुन सकेको देखिँदैन । भ्रमणका क्रममा चीनसँग भएका समझदारीबाट नेपालले के–के कुरामा फाइदा लिन सक्यो भन्ने विषयमा सरकारका मन्त्री तथा सरकारी कर्मचारीले बताउन सकेको देखिँदैन । आफैँ आत्मनिर्भर हुन नसकेको नेपालले चीनतर्फ भैँसीको मासु निर्यात गर्ने समझदारी गर्नुले भ्रमणका क्रममा तय भएका विषयवस्तु कस्ता थिए भन्ने प्रस्ट हुन्छ । नेपाल अहिले पनि भैँसीको मासुमा आत्मनिर्भर हुन नसकेर भारतका विभिन्न शहरबाट राँगा तथा भैँसी नेपाल ल्याउने गरेको प्रसंगलाई समेत ध्यान दिन नसकेका प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालबाट चीनमा भैँसीको मासु निर्यात गर्ने समझदारी गर्नुले नेपालको तयारी कस्तो रहेछ भन्ने पनि प्रस्ट हुन्छ ।

साताव्यापी भ्रमण सकेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझामका साथ आफ्नो चीन भ्रमण सफलमात्र होइन ऐतिहासिक भएको दाबी गर्नु आफैँमा हास्यास्पद देखिन्छ । मुलुकलाई फाइदा हुने यो–यो विषयमा चीनसँग समझदारी भयो भनेर प्रस्ट भन्न नसक्नुभएका प्रधानमन्त्रीले भ्रमण ऐतिहासिक र सफलमात्रै भन्नुले उहाँको चीन भ्रमणलाई लिएर सन्तोष गर्ने ठाउँ भेटिँदैन । भ्रमणका क्रममा नेपालले जुन–जुन विषयमा अडान लिनुपर्ने थियो त्यो कसरत नै भएको देखिँदैन । नेपाली कूटनीतिको असफलताको उदाहरण हो प्रचण्डको चीन भ्रमण । अहिले यी र यस्तै विषयमा बजारभर चर्चा भइरहेको छ । नेपालले चीनबाट लिनुपर्ने फाइदा लिन नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना हुनुलाई अस्वाभाविक मान्न सकिँदैन । त्यसैले नेपालले चीनबाट जति फाइदा लिनुपर्ने हो त्यो लिन नसक्नुमा प्रधानमन्त्रीको मुख्य भूमिका रहेको भन्दा फरक नपर्ला ।

प्रतिक्रिया दिनुहोस्